वर्षाले जताततै बाढीपहिरो

बबई तटमा बर्सेनि त्रास

बर्दिया : बबई नदी तटीय क्षेत्रका बासिन्दा शुक्रबार रातभर जाग्राम बसे । साँझदेखि मुसलधारे पानी पर्न थालेपछि बबईमा बाढी आउने आशंकामा नदी तटका बासिन्दा अनिँदो बसे । तीन वर्षअघि वितण्डा मच्चाउदै गाउँ पसेको बबई नदीले ठूलो क्षति पु¥याएको थियो ।

तीन वर्षअघिको बाढीले उठीबास भएका बर्दियाबासी अझै पनि बाढीको त्रासमा छन् । यस वर्ष पनि बाढी पसेर बचेखुचेको जमिन र अन्नपात बगाएर लैजाने हो कि भन्ने उनीहरूलाई चिन्ता छ ।

‘आकाश गर्जेर जब पानी पर्न थालेपछि सबैको मन चिसो हुन्छ,’ ठाकुरबाबा–४ वर्गदाका डाक्टर थारूले भने, ‘फेरि बाढी आउने डरले सबैजना एकै ठाउँमा जम्मा भएर रात काट्छौं ।’ शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि बबई नदीमा पानीको सतह बढेको छ । ससाना खोला पनि बढेका छन् । बबईमा पानीको सतह ६ मिटर पुगेपछि खतरा मानिन्छ । शनिबार बिहान पानीको सतह ७ दशमलव ४२ मिटर पुगेको थियो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै जिल्लावासीलाई उच्च सर्तकता अपनाउन अपिल गरेपछि यहाँ झनै त्रास फैलिएको हो । शनिबार अबेरसम्म नदीमा पानीको सतह नघटेपछि स्थानीय त्रसित भएका छन् ।

बबई नदीका कारण ठाकुरबाबा, बाराबर्दिया र गुलरिया नगरपालिकाका विभिन्न बस्ती जोखिममा छन् । कुनै पनि बेला विपद् आउन सक्ने भन्दै जिल्लामा उच्च सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बताए । सेना, प्रहरी र रेडक्रसको टोलीलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । गत तीन वर्षअघि साउन महिनामा बबई नदीमा आएको बाढीले ३४ जनाको ज्यान लिएको थियो । सो घटनाका १३ जना अझै बेपत्ता छन् भने १३ हजार घरपरिवार बाढीबाट प्रभावित भए । यसैगरी ३ हजार ६ सय ५० घरपरिवार बाढीबाट विस्थापित भएका थिए ।

१५० घर डुबानमा

 शुक्रबारको मुसलधारे झरीले जिल्लाका करिब १ सय ५० घरपरिवार डुबानमा परेको र १२ घर पूर्ण रूपले क्षति भएको बर्दिया रेडक्रसले जनाएको छ । यसैगरी बाराबर्दिया, बासगढी र ठाकुरबाबा नगरपालिकाका परिवार विस्थापित भएको रेडक्रसले जनाएको छ । बबई नदीको सतह बढेसँगै बाराबर्दिया, ठाकुरबाबा र गुलरिया नगरपालिकाका दर्जनौं गाउँ जोखिममा परेका छन् । सदरमुकाम गुलरियाको बालापुर गाउँबाट बबई नदी बस्तीतर्फ पस्ने खतरा रहेको बताइएको छ ।

बाढीले धनजनको क्षति

तुलसीपुर :  गत शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पश्चिम दाङमा ठूलो धनजनको क्षति भएको छ । वर्षाका कारण एक महिलाको मृत्यु भएको छ भने बाढीमा परी पशुचौपाया पनि मरेको बताइएको छ ।

तुई खोलामा आएको बाढी कारण तुलसीपुर उपमहानगरपालिका–१३ सिमलखुटी डुबानमा परेको र घर भत्किँदा च्यापिएर ४८ वर्षीया भगवती सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसैगरी तुलसीपुर–७ स्थित बेतनी खोलाले बगाउँदा तुलसीपुर–४ जितपुरका ५८ वर्षीय नरबहादुर रावतको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार दिउँसो खोला तर्ने क्रममा रावतलाई खोलाले बगाएको थियो ।

त्यसैगरी दंगीशरण गाउँपालिका–१ मा ४३ वटा घरगोठ भत्किएको इलाका प्रहरी कार्यालय तुलसीुरका प्रहरी नायब निरीक्षक विवेक शाहले जानकारी दिए । यता तुलसीपुर उपमहानगरपालिका–८ दुधेनास्थित चमी खोलामा आएको बाढी कुखुरा फर्ममा पस्दा करिब ३ लाख बढीको कुखुरा मरेको बताइएको छ ।

स्थानीय देव भुसालको कुखुरा फर्ममा बाढी पस्दा ७ सय कुखुरा मरेको प्रहरीले जनाएको छ । त्यस्तै वडा–८ कै दुधेनास्थित नोखीराम केसीको गोठ भत्किएको छ भने तुलसीपुर–९ शिवपुरमा गुमान विकको घर र गोठ पहिरोले भत्काएको छ ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका–१३ का प्रकाश कार्कीका ९ सय कुखुरा बाढीले बगाएको छ भने वडाको दमारगाउँ, अम्बारपुर, टुकलाल टोल र रनियापुरमा २८ घर पूर्ण रूपमा क्षति भएको छ ।

त्यस्तै बबई गाउँपालिका–७ बबई नदीमा निर्माणाधीन पुलको निर्माण सामग्री बाढीले बगाउँदा ३ करोड बढीको क्षति भएको छ । त्यसैगरी बबई नदीमा आएको बाढीका कारण अवरुद्ध राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–शीतलपुर सडकखण्ड दिउँसो १२ बजेपछि खुलेको थियो । नदीमा पानीको बहाव घटेपछि सवारीसाधन सञ्चालनमा आएका हुन् ।

मकै बालीमा क्षति

अविरल वर्षाले ठूलो मात्रामा मकै बालीमा क्षति भएको छ । मोतीपुर, उरहरी, बेलटाकुरा, टरीगाउँ, जसपुरलगायतका स्थानमा लगाइएको मकै बाली ढल्दा किसानहरू चिन्तित भएको वडा–१२ का वडाध्यक्ष श्याम डाँगीले जानकारी दिए । उनका अनुसार खाने बेला भइसकेका मकै ढल्दा किसानहरूलाई ठूलो मात्रामा नोक्सान भएको छ ।

तुलसीपुर–घोराही सडक अवरुद्ध

वर्षाका कारण तुलसीपुर–घोराही सडकखण्डको मोतीपुरमा बाढीले ह्युमपाइपसहित सडक कटान गर्दा शनिबार बिहानदेखि सडक अवरुद्ध भएको छ । दैनिक १ हजार बढी सवारीसाधन ओहोरदोहोर गर्ने सो सडक बाढीले कटान गर्दा यात्रुहरू शनिबार दिनभर हैरान भएका थिए ।

वर्षाका कारण क्षति भएका तुलसीपुरका विभिन्न वडामा तुलसीपुर उपमहानगरपालिकाले राहत वितरण गर्न थालेको छ । तुलसीपुर उनपाका प्रमुख घनश्याम पाण्डेले बाढीका कारण घर भत्केर मृत्यु भएकी तुलसीपुर–१३ फूलबारीकी भगवती विकको परिवारलाई तत्काल क्रिया खर्चस्वरूप १० हजार दिइने बताए ।

मुख्य सडकमा ढल समस्या

रूपन्देही :  बुटवलमा नमुनाका रूपमा हेरिएको ‘सिक्स लेन’ सडकमा ढल निकासमा समस्या देखिएको छ । व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया–बुटवल सडकमा ढल व्यवस्थित नहुँदा सडकमा पानी बगेको छ ।

शुक्रबारदेखि भएको भारी वर्षापछि बुटवलको सडक तालजस्तै बनेको थियो । दुई दिनदेखि लगातार परेको वर्षाका कारण बुटवलका केही क्षेत्र डुबानमा परेका छन् । ढल पूरानो संरचनामा बनेकाले ओभरफ्लो भएर सडकमा पोखिएको विज्ञहरूले बताएका छन् ।

राजमार्ग चौराहादेखि योगिकुटीसम्म त सडकबाटै पानी बग्न थालेपछि सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ । सडकको दायाँबायाँ सवारी गुडाउन समस्या मात्रै भएन, पार्किङमा राखिएका सवारीसमेत डुबेका छन् । सडकको ढल निकास गतिलो नहुँदा सडकमै ताल बन्ने अवस्था आएपछि बुटवलवासीले सामाजिक सञ्जालमा आक्रोस पोखेका छन् ।

बुटवलको कालिकनगर, योगीकुटी, मणिग्राम र भलवारी क्षेत्रका सडक तालजस्तै बने । बुटवलको राजमार्ग चौराहादेखि योगीकुटीसम्म ढलले थेग्न नसक्ने गरी पानीको मात्र ओभरफ्लो भएको व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडकका इन्जिनियर लिलाबहादुर भण्डारीले बताए । बुटवल आयोजनाले काम गरेको तीन वर्षमा पहिलोपटक सडकमा पानी बगेको उनले स्पष्ट पारे ।

दाउन्नेमा सडक भासिएपछि यातायात अवरुद्ध

नवलपरासी / रास– लगातार परेको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा सडक भासिएको छ । सडक भासिएपछि पूर्व–पश्चिम राजमार्ग ठप्प हुने अवस्था आएको छ ।

गए राति साढे १० तिर पहिरो गएपछि सो क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ । शनिबार दिउँसो दाउन्नेको एस मोड क्षेत्र र खुर्सानी खोलाको बीच भागमा सडक भासिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक टेक रावतले जानकारी दिए । करिब १५ मिटर जति सडक भासिएको जानकारी दिँदै प्रनि रावतले भने, ‘राजमार्ग नै भासिएपछि पहिरो पन्छाएर पनि सडक सुचारु हुने अवस्था छैन ।’ सडक भासिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुहरूलाई आग्रह गरेका छन् ।

यसैबीच जिल्ला ट्राफिक कार्यालय नवलपरासीका प्रमुख धमेन्द्र रावलले दाउन्ने पूर्वका पहिरो हटाउने काम सकिएको बताए । उनले दाउन्ने पश्चिमका पहिरो हटाउने क्रम सुरु भएको र शनिबार अबेरसम्म पहिरो पन्छाउने काम भने सकिने जानकारी दिए ।

अहिले पूर्वबाट आएका यात्रुलाई पैदलै बर्दघाटतर्फ पठाइएको र पश्चिमबाट आएका यात्रुलाई पैदल पश्चिमतर्फ पठाइएको उनले बताए । जिल्ला ट्राफिक प्रमुख रावलका अनुसार १५ मिटर जति सडक भासिएकाले तत्काल चारपांग्रे सवारीसाधन पास हुने अवस्था छैन । अहिले पैदल यात्रु र मोटर साइकलका यात्रु ओहोरदोहोर गर्न सुरु भए पनि मोटरसाइकलभन्दा ठूला सवारीसाधन भने सञ्चालनमा आउन सकेको छैन ।

भासिएको सडक निर्माण कार्य ट्राफिक प्रहरीको क्षमताभन्दा बाहिर रहेको उनले बताए । यसका लागि सडक डिभिजन कार्यालयमा जानकारी गराएको बताउँदै प्रमुख रावलले भने, ‘पहिरो पन्छ्याएर सडक सञ्चालनमा आए पनि ठूला तथा चारपांग्रे सवारीसाधन भने सञ्चालन गर्न सकिँदैन ।’ यसैबीच सडक डिभिजन कार्यालय बुटवलले अवरुद्ध सडक खुलाउन प्रयास सुरु गरेको इन्जिनियर युवराज पाण्डेले जानकारी दिँदै भने, ‘त्यसका लागि सडक भासिएको क्षेत्रको भित्ता काटेर डाइभर्सन निर्माण गर्ने काम भइरहेको छ ।’ शनिबार मध्यरातसम्म सवारीसाधन सञ्चालनमा आउने उनले बताए ।

सिरहाका अधिकांश गाउँ डुबानमा

सिरहा / रास– अविरल वर्षाका कारण नदीहरूमा बाढी आएपछि सिरहा जिल्लाका अधिकांश गाउँ डुबानमा परेका छन् । गत तीन दिनदेखि लगातार परेको अविरल वर्षाले सिरहाको कमला, बलान, गागैन, बाबुराम खोला, मुटनी खोलालगायतको नदीको पानी गाउँमा फसेकाले सिरहाका २ दर्जन बढी गाउँ डुबानमा परेका छन् ।

कमला नदीमा आएको बाढीले सिरहाको सारश्वर, मल्हनियाँ खोरी, पिरारीलगायतको गाउँ पानी पसेको छ । सारश्वरमा नै करिब सयौं घर डुबानमा परेको छ भने अन्य ठाउँमा सूचना आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले जानकारी दिए ।

कमला नदीमा बाढी आएपछि सो नदीको किनारमा रहेको एक दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् भने सिरहाको बीच खण्डमा रहेको गागन खोला र बाबुराम खोलाको पानी गाउँमा पसेपछि सुखीपुर नगरका सयौं घरपरिवार बिचल्लीमा परेका छन् ।

यसैगरी बाबुराम खोलाको र पश्चिम गागन खोला बीचमा रहेको सुखीपुर गाउँका स्थानीय त्रसित छन् । दुवै नदीमा २० वर्षयताको सबैभन्दा ठूलो बाढी आएपछि खोलाको पानी गाउँमा पस्ने सम्भावना अत्याधिक रहेकाले प्रहरीहरू कटान क्षेत्रमा स्थानीयवासीहरू नजानसमेत उद्घोष गरेको इलाका प्रहरी कार्यालय सुखीपुरका प्रहरी नायब निरीक्षक सुदर्शन दासले बताए ।

लहान नगरपालिका–१ स्थित नहरको बाँधमा घर बनाई बसेका अधिकांश दलितको घरआँगनबाटै पानी बगेको छ । एक दर्जनभन्दा बढी घरमा पानी पसेपछि उनीहरूले सुरक्षित बासस्थान खोजिरहेका छन् ।