जुफाल विमानस्थल कालोपत्रे कार्य रोकियो

टेक शाही / डोल्पा

डोल्पाको जुफाल विमानस्थल कालोपत्रे गर्ने कार्य पाँच दिनदेखि रोकिएको छ । दैनिक १५ देखि २० मिटरसम्मको धावनमार्ग कालोपत्रे गर्ने काम गरिरहेको मेसिनमा समस्या आएको भन्दै सो कार्य रोकिएको हो ।

कुल ५ सय ६० मिटर धावनमार्ग रहेको जुफाल विमानस्थलको काम दुई महिनामा ३ सय ७० मिटर बराबर सम्पन्न भएको आयोजनाका प्राविधिक प्रमुख वीरप्रसाद शाहीले बताए । कालिका सिद्धि साई कन्स्ट्रक्सन जेबीले निर्माणको जिम्मा लिएको र आफूले डोल्पाली जनता र डोल्पाको हालको अवस्थालाई नियाल्दै कामलाई रातदिन गरेर सम्मपन्न गर्ने लक्ष्य लिएकोे शाहीले बताए । उनले भने, ‘मेसिनमा समस्या आएर विमानस्थल निर्माण कार्य रोकिए पनि तत्कालै काम सुरु हुन्छ ।’

अधिकांश यात्रु जोखिमपूर्ण यात्रा गर्दै पैदल जाने गरे पनि बिरामीको लागि भने कुनै पनि माध्यम रहेका छैनन् । आर्थिक अवस्था मजबुत भएकाहरूले प्रतिव्यक्ति ५० हजार रुपैयाँ तिरेर हेलिकोप्टर चढ्ने गरे पनि सर्वसाधारणका लागि क्ुनै यातायातका साधन रहेका छैनन् ।

महँगी अकासिँदै गएको र दैनिक उपभोग्य समान मौजात सकिँदै गएको सरोकारवालाले बताएका छन् । दैनिक उपभोग्य सामान ढुवानी गर्न कुनै पनि यातायातका माध्यम नभएकोले डोल्पा अघोषित नाकाबन्दीमा परेको नागरिकको गुनासो छ ।

दशैंनजिक आउन लागेकोले पनि विमानस्थल निर्माण कार्य चाँडो सक्नुपर्ने आवश्यकता रहेको विमानस्थलमा काम गर्ने क्रसर प्राविधिक राधाकृष्ण श्रेष्ठले बताए । उनले डोल्पालीका पीडालाई आत्मसाथ गरेर काम गरिरहेको बताए । भदौको १० सम्ममा धावनमार्ग सम्पन्न गरी जहाज सुचारु गर्ने नागरिक उड्डयन प्राधिकरणले आश्वासन दिएको भए पनि त्यो आश्वासन मात्र भएको नागरिकको गुनासो छ ।