२ करोडको मह कारोबार

नवीन शिशिर / बागलुङ

बागलुङमा गत आर्थिक वर्षमा ३२ मेट्रिक टन मह उत्पादन हुँदा २ करोड ५० लाख बढीको कारोबार भएको छ । जिल्ला कृषि विकास कार्यालय बागलुङले ग्रामीण क्षेत्रमा व्यावसायिक मौरी पालन र उत्पादनसम्बन्धी तालिम दिएपछि उत्पादनमा वृद्धि भएको हो । तालिम प्रदानसँगै व्यावसायिक मौरी पालन बढेर मह उत्पादनमा वृद्धि भएको बताइएको छ ।

बागलुङमा वनजंगल प्रशस्त तथा मौरीका लागि अनुकूल वातावरण भएकाले पनि मह उत्पादनमा वृद्धि भएको कृषि प्रसार अधिकृत विप्लव अधिकारीले बताए ।

प्रतिकिलो १ हजार देखि १५ सयसम्ममा मह बिक्री हुने गरेको छ । एक किसानले वार्षिक ३ देखि ५ लाखसम्म आम्दानी गर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

बागलुङमा दगातुनडाँडा र जैदी महको पकेट क्षेत्र मानिन्छ । त्यसबाहेक जिल्लाको साविकका सिगाना गाविस, छिस्ती, रेश, अमलाचौर, बुर्तिवाङमा पनि व्यावसायिक रूपमा मह उत्पादन हुँदै आएको छ । गत वर्ष ५० प्रतिशत अनुदानसहित कृषि कार्यालयले ४ हजार उन्नत जातको मौरी घार वितरण गरेको जनाएको छ । करिब १५ सय मुढे घारमा पनि मौरी पाल्दै आएका छन् ।

आगामी आर्थिक वर्षमा पनि जिल्लाका विभिन्न स्थानमा मौरी उपकरणहरू वितरण तालिम सञ्चालनलगायतको अभियान सञ्चालन गरी मौरी पालन र मह उत्पादनमा अझै वृद्धि गर्नेे कृषि प्रसार अधिकृत अधिकारीले बताए । साथै बागलुङले राम्रो मह उत्पादन गरेको भन्दै राष्ट्रिय पुरस्कारसमेत पाएको छ ।

गत आर्थिक वर्षमा जिल्लाका २० जना व्यावसायिक मौरीपालक किसानले १ लाख ८० हजारका दरले सरकारी अनुदान पाएका थिए । बागलुङमा ६ हजारभन्दा बढी घारमा मह उत्पादन भएको छ भने उत्पादित मह जिल्लाभित्रै खपत हुने गरेको छ । पछिल्लो समयमा जिल्लाका अधिकांश व्यक्ति कुनै न कुनै व्यवसायमा आबद्ध भई जीविकोपार्जन गरिरहेका छन् ।