बेनी भ्रमण वर्ष मनाउने तयारी

रासस / म्याग्दी

पर्यटकीय सम्भावनाले युक्त म्याग्दीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक जिल्लामा भिœयाउने उद्देश्यले २०७५ साललाई ‘बेनी भ्रमण वर्ष २०७५’ का रूपमा मनाउने तयारी सुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघका महासचिव एवं परोपकारी संस्था ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यको अगुवाइमा जिल्लाका युवाले सरोकार भएका संघसंस्थासँग सहकार्य गरेर सो अभियानको तयारी सुरु गरेका हुन् ।

प्रवासी म्याग्देली, म्याग्दी उद्योग वाणिज्य संघ, बेनी नगरपालिका र नेपाल पर्यटन बोर्डको सहकार्यमा भ्रमण वर्षका कार्यक्रम अघि बढाइने शाक्यले बताए । अबको केही दिनमा नै भ्रमण वर्ष आयोजक समिति बनाएर काम अघि बढाइने तयारी भइरहेको बताइएको छ । शाक्यका अनुसार भ्रमण वर्ष सुरु हुनुअघि नै युट्युब, भिडियो, ब्रोसर, वेबसाइट, विज्ञापन पार्टी, पुस्तिका आदि बनाएर तीव्र रूपमा प्रचारप्रसार गरिनेछ । ‘२०७५ सालभरिमा म्याग्दीमा ५० हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक भिœयाउने योजनासहित ‘बेनी भ्रमण वर्ष २०७५’ को आयोजना गर्न लागेका हौं,’ शाक्यले भने, ‘मुक्तिनाथ प्रवेशद्वार, गलेश्वर धाम, घोडेपानी, पुनहिल, रुप्से र अन्धगल्छीले मात्र म्याग्दीको पहिचान अधुरो हुन्छ ।’

तीबाहेक पनि म्याग्दीमा महिनौं दिनसम्म घुम्न, प्राकृतिक सौन्दर्यको आनन्द लिन र सिक्न सकिने ठाउँ छन् । अन्नपूर्ण परिपथ, लोमान्थाङ, गुरिल्ला ट्रेक, मुक्तिनाथलगायत स्थान घुम्नका साथै अरू पर्यटकलाई समेत म्याग्दीका गन्तव्यसँग परिचित गराउने भ्रमण वर्षको उद्देश्य रहेको छ ।

अहिलेदेखि नै जिल्लाका एक नगरपालिकासहित पाँचवटै गाउँपालिकाका सम्भाव्य पर्यटकीय स्थलको जानकारी लिने र त्यहाँका बासिन्दालाई घरबास, पदमार्ग, सरसफाइलगायत पूर्वाधार निर्माणका लागि जानकारी दिने काम भइरहेको शाक्यले बताए । भ्रमण वर्षभरि उत्कृष्ट समाचार लेख्ने तथा प्रसारण गर्ने पत्रिका, टिभी, अनलाइन र एफएमका केही पत्रकारलाई नगद पुरस्कारसहित भ्रमण वर्षको समापनमा सम्मान गरिने योजना रहेको शाक्यले बताए ।

प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनायुक्त जिल्लाको सम्बन्ध धार्मिक र ऐतिहासिक पात्रसँग पनि जोडिएको छ । यो जिल्ला पुराणमा उल्लिखित ऋषिमुनिको तपोभूमि, धार्मिक ग्रन्थ ‘रामायण’ मा उल्लिखित रावणको जन्मभूमि, ऐतिहासिकस्थल र पुराताŒिवक दृष्टिकोणले समेत महŒवपूर्ण भूमिका रूपमा परिचित छ ।