कात्तिकभित्र ढल्केबर सबस्टेसन सम्पन्न गरिने

काठमाडौं / रासस– मुलुकको विद्युत् प्रसारणको ‘प्रमुख हब’का रूपमा रहेको ढल्केबर सबस्टेसनको निर्माण कार्य आगामी कात्तिकभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी), परामर्शदाता पावर ग्रिड इन्डियाले नेपालको आवश्यकता र बाध्यतालाई केन्द्रबिन्दुमा राखेर तोकिएको समयमा निर्माण सम्पन्न गर्ने कार्यतालिका तय गरिएको हो ।

नेपाल विद्युत् प्राधिकरणले अगाडि सारेका सुधारका कार्ययोजनामा अवरोध उत्पन्न भएको र ढल्केबर सबस्टेसनको कामसमेत सम्पन्न नहुने हो भने आगामी हिउँदमा विद्युत्भार पुनः कटौती हुने हो कि भन्ने आशंका कायम रहेको बेला पछिल्लोपटक तय भएको कार्यतालिकाले नयाँ आशाको सञ्चार गरेको छ ।

धनुषाको ढल्केबरमा सबस्टेसन निर्माण गरिरहेका चिनियाँ ठेकेदार सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी) ले १५ कात्तिकभित्रमा काम सक्ने प्रतिबद्धता जनाएको छ । हाल करिब ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बाँकी १० प्रतिशत कार्य सम्पन्न गराउन ऊर्जा मन्त्रालय र प्राधिकरणका तर्फबाट उपलब्ध गराउनुपर्ने सहयोग गरिने प्रतिबद्धतासमेत जनाएको छ ।

विगत सात वर्षदेखि निर्माणको क्रममा रहेको भरतपुर–बर्दघाट प्रसारण लाइनको ठेक्का प्राधिकरणले तोडेर ठेकेदारको बैंक ग्यारेन्टीका रूपमा रहेको ३० करोड रकमसमेत जफत गरेपछि ढल्केबर सबस्टेसन निर्माण कार्य रोकेको थियो । ठेकेदारले आफूसँग भएको सम्झौता तोडेको भन्दै ढल्केबरको कामसमेत नगर्ने र अलपत्र छाड्ने चेतावनी दिएको थियो । प्रसारण लाइन निर्माण र सबस्टेसनको विषय फरकफरक योजना भएकाले समान रूपमा हेर्न नहुने भन्दै प्राधिकरणले तत्काल सबस्टेसनको काम अगाडि बढाउन ठेकेदारलाई आग्रह गरेको थियो ।

धरौटी जफत गरेपछि सीसीपीजीका आयोजना प्रबन्धक गेङ जैलिङले प्राधिकरणलाई ढल्केबर सबस्टेसनको काम आंशिक रूपमा रोकिएको जानकारी गराएका मात्रै थिएनन् काम नगर्ने भन्दै निर्माणस्थल छाड्ने बताएका थिए । आग्रह अटेर गरे ठेकेदारमाथि थप कारबाही हुने भन्दै प्राधिकरणले चेतावनीसमेत दिएको सन्दर्भमा सरोकार भएका पक्षबीच नयाँ सहमति भएको हो ।