तेह्रथुमे ढाका जिल्लाकै पहिचान बन्दै

कृष्ण ‘बिदुखी’ गौतम / तेह्रथुम

तेह्रथुमको सदरमुकाम म्याङलुङ आउने सबैको पहिलो नजर तेह्रथुमे ढाकामा जाने गर्छ । उनीहरूले एक÷दुई वटा ढाकाका कपडा जस्तो सुकै मौसमा पनि कन्ने गर्छन् । हातैले बुनेका कलात्मक ‘तेह्रथुमे ढाका’ हिजोआज तेह्रथुम जिल्लाकै पहिचान बनेको छ । ढाका कपडाका पारखीले टाढैबाट चिन्छन्, तेह्रथुमे ढाकालाई । तेह्रथुमे ढाकाको विशेष पहिचानका रूपमा यहाँको कला रहने गरेको छ ।

तेह्रथुमे ढाकामा धागो र रङको संयोजन कलात्मक र उत्कृष्ट रहेको कारण ढाका कपडाका पारखीहरूले टाढैबाट चिन्ने गर्छन् । बजारमा तेह्रथुमे ढाकाको माग बढ्दै गएकाले व्यापारीले अन्य स्थानमा बुनिएका ढाका कपडालाई पनि तेह्रथुमे भनेर झुक्याउने गर्छन् । यसबाट उपभोक्ता ठगिएको महसुस गर्दै उद्यमीले जिल्लामा उत्पादित ढाका कपडामा ट्रेड मार्क बनाउने तयारी गरिरहेका छन् । धागो र रङ संयोजको कलात्मकताकै कारण तेह्रथुमे ढाका कपडाको व्यापारसमेत फस्टाउँदै गएको छ ।

पूर्वाञ्चलमा मात्र लोकप्रिय तेह्रथुमे ढाका हिजोआज देशका ठूला बजारमा मात्र होइन, विदेशमा समेत निर्यात हुन थालेको पराजुली ढाका कपडा उद्योगका सञ्चालक ढंग पराजुली बताउँछन् । तेह्रथुमे ढाका कपडा देशका ठूलाठूला बजार र विदेशसमेत निर्यात हुन थालेको अन्य उद्यमीहरूको भनाइ छ । हिजोआज काठमाडांै, पोखरा, बुटवल, धरान, विराटनगरलगायतका देशकै ठूलाठूला बजारमा तेह्रथुमे ढाकाको माग बढ्दै गएको छ । तेह्रथुमबाट वार्षिक ५ करोड मूल्यबराबरको ढाका कपडा देशका विभिन्न बजारमा खपत हुने गरेका छन् । त्यसैगरी हङकङ, युके, सिंगापुर, ब्रुनाई, भारतलगायतका देशमा पनि तेह्रथुमे ढाकाको निर्यात बढ्न थालेको छ । विशेषगरी पूर्व क्षेत्रका नेपालीको बसोबास रहेको देशमा तेह्रथुमे ढाका कपडाको निर्यात हुने गरेको छ ।

ढाका कपडाले जिल्लाको अर्थतन्त्रलाई ठूलो टेवा पु¥याएको छ । यसबाट हजारौं महिलाले रोजगारीसमेत पाएका छन् । ढाका उद्यमबाट महिलाको आयआर्जनमा सुधार आएको र महिला हिंसासमेत कम हुने गरेको उज्ज्वलता ढाका कपडा उद्योग सञ्चालिका रूपा लिम्बूको भनाइ छ । यसबाट विपन्न र असहाय महिलाहरू आत्मनिर्भर बनेका छन् । म्यालुङस्थित आफ्नो उद्योग मात्र ८० जना महिलाहरूलाई रोजगारी दिएको लिम्बूले बताइन् । घरेलु उद्योगमा काम गर्नेहरू महिलाहरूले मासिक ७ देखि ९ हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् । यसका अलवा स्थानीयले घरघरमा समेत घरेलु कपडा बुन्ने गरेका छन् । बजारमा तेह्रथुमे ढाका कपडाको माग यति धेरै बढे पनि माग पूरा गर्न नसकिएको उद्योगी बताउँछन् ।

बजारमा तेह्रथुमे ढाकाटोपी, साडी, कुर्ता सरवाल, पछ्यौरा, चौबन्दी चोलो, रुमाल, टप्स, स्काफ, टाई, पर्स, दौरासुरुवाल, कोटलगायतका सामग्री लोकप्रिय रहेको छ । घरेलु तथा साना उद्योग विकास समितिका अनुसार जिल्लामा एक दर्जन ठूला र सानातिना गरी ८ सय ९२ वटा घरेलु उद्योग दर्ता भई सञ्चालनमा रहेका छन् । जसबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ३ हजार महिलाले रोजगारी पाएको घरेलु तथा साना उद्योग कार्यालय तेह्रथुले जनाएको छ ।

हातैले बनाइएका तेह्रथुमे ढाका आकर्षक र गुणस्तरीय छ । यसको बजार प्रवद्र्धन गर्न सके जिल्लालाई नै आर्थिक रूपमा समृद्ध बनाउनेछ । मेसिन प्रयोग नगरी हातैले बनाएकाले तेह्रथुमे ढाकाको मूल्य अरू ठाउँको तुलनामा केही बढी रहेको छ ।  टिकाउ र गुरणस्तरीयताको हिसाबले सर्वोत्कृष्ट मान्निछ । राष्ट्रिय स्तरको औद्योगितक प्रदर्शनीमा तेह्रथुमे ढाका उद्यमीहरूले एक दशकदेखि नै ह्यान्डी क्याप शीर्षकमा सर्वोत्कृष्ट उद्यमीको स्थान हासिल गरिरहेका छन् । अन्य ठाउँमा मेसिन प्रयोग गरी ढाका बुन्ने क्रम बढेको र तिनीहरूलाई पनि तेह्रथुमे ढाका भनी ग्रहकहरूलाई ठग्ने प्रवृत्ति बढ्दै गएको छ ।

शरीरलाई न्यानो राख्न कपासको धागोबाट कपडा बुन्न थालेपछि त्यसैको विकसित रूप ढाका कपडा भएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष गणेश सेन बताउँछन् ।