पर्यटक आवागमन घट्यो

राजधानी संवाददाता / डोल्पा

डोल्पा आउने पर्यटक घटेका छन् । यातायात अभावमा आन्तरिक तथा बाह्य पर्यटक आवागमनमा कमी आएको हो । अघिल्लो वर्षको तुलनामा यस वर्ष आन्तरिक तथा बाह्य पर्यटकको संख्या घटेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालयले जानकारी दिएको छ ।

यो वर्ष से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा ५ सय ७३ जना पर्यटक आएका रेन्जर सञ्जयकुमार चौधरीले बताए । उनका अनुसार महिला २ सय १४ जना र पुरुष ३ सय २१ जना छन् । जसमध्ये सार्क मुलुकका १४ जना र अन्य देशका ५ सय २३ जना रहनुका साथै अघिल्लो वर्ष १ हजार ६ सयभन्दा धेरै पर्यटक भित्रिएको सो निकुञ्जले जनाएको छ ।

राष्ट्रिय राजमार्गले नछोएको र पर्यटन आउने सिजनमा हवाई यातायात बन्द भएपछि पर्यटक घटेको पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीले बताए । उनका अनुसार जहाज सुविधा नभएको र पर्यटकले माथिल्लो डोल्पाका लागि महँगो हेलिकोप्टर भाडा तिर्न कठिन मान्ने भएकाले पनि पर्यटक घटेका हुन् । अघिल्ला वर्षमा पर्यटक हजारौंको संख्यामा आउनाले होटल व्यवसाय पनि राम्रै चलेको र यस वर्ष पर्यटक घटेपछि व्यवसाय संकटमा परेको चाँद हमालले बताए ।

डोल्पामा पर्यटक माथिल्लो डोल्पा भ्रमण गर्न आउँछन् । सार्क मुलुकका पर्यटकका लागि प्रतिव्यक्ति १६ सय डलर र अन्य देशका लागि १३ सय डलर पर्यटन शुल्क लाग्ने से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए । माथिल्लो डोल्पामा रहेको बहुचर्चित सेगुम्बा, नेपालकै गहिरो से–फोक्सुन्डो ताल, शूलीगार्ड झरना, माथिल्लो डोल्पी रहनसहन, वेशभूषा अवलोकन र अन्य प्राकृतिक दृश्य अवलोकनका लागि आउने गरेको स्थानीय आंगबहादुर लामाले बताए ।

पर्यटकहरू जति धेरै आउँछन्, त्यति धेरै सबै व्यवसायीको आयस्तर बढ्ने पर्यटन व्यवसायी हिमबहादुर थापाले बताए । उनका अनुसार पर्यटकीय पदमार्गमा रहेका चियापसलदेखि स्थानीय हस्तकलाका सामग्री उत्पादन गर्ने व्यवसायीको समेत आम्दानी रोकिएको छ ।

पर्यटक जुम्ला, डोल्पा हुँदै मुस्ताङ र बागलुङ हुँदै पोखरासम्म पदयात्रा गर्छन् । यस वर्ष पर्यटक केही पैदलमार्ग भएर आएका छन् भने कोही हेलिकोप्टर चार्टर गरेर आउने गरेको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको कार्यालय शूलीगार्डले जानकारी दिएको छ । पर्यटक आवागमन घट्नुमा हवाई तथा पैदल यातायात मुख्य समस्या भएको डोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष लालीमान बुढाले बताए । उनले माथिल्लो डोल्पा भौगोलिक रूपमा ठूलो भएको र सञ्चारको पहँुच नभएका कारण पनि सञ्चार सुरक्षा दुवै हिसाबले पर्यटकलाइ सहजता नभएकामा जोड दिए । माथिल्लो डोल्पाका तीनवटै गाउँपालिकामा सञ्चारका कुनै पनि माध्यम छैनन् । हरेक वर्ष माथिल्लो डोल्पामा सुरक्षा र सञ्चार अभावकै कारण लाखौंको लुटपाट हुने गर्छ ।