सुगन्धित वनस्पतिमा जोड

सुगन्धित वनस्पतिमा जोड


रघुराम पराजुली

नेपाल जैविक विविधतामा अत्यन्त धनी मुलुक हो । यहाँको माटोमा धेरै खालका जडीबुटी तथा सुगन्धित वनस्पतिहरू पाइन्छन् । जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको वैज्ञानिक तवरले व्यावसायिक खेती, उत्पादन, प्रशोधन, मूल्य अभिवृद्धि तथा भरपर्दो बजारको प्रबन्ध गर्न सकियो भने मुलुकको आर्थिक तथा सामाजिक विकासमा समेत टेवा दिन सकिन्छ । नेपाली जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको अत्यधिक माग हुँदाहुँदै पनि व्यावसायिक उत्पादन तथा गुणस्तर सुनिश्चितता नभएसम्म उचित फाइदा लिन सकिँदैन ।

उपयुक्त प्रजाति छनोट, प्रविधि विकास, मूल्य अभिवृद्धिका उपायहरूको उपलब्धता र दिगो बजारको व्यवस्थापन प्रमुख विषय हुन् । प्रशोधनका अनेक प्रविधिहरू छन् । तर उपयुक्त प्रजातिको प्रविधि विकास भएन भने लगानी खेर जान्छ । त्यसैगरी, उपयुक्त प्रजाति, प्रशोधन तथा मूल्य अभिवृद्धिको पर्याप्तता भइरहँदा पनि बजारको सुनिश्चितता भएन भने सही व्यवस्थापन हुन सक्तैन । बजारको सुनिश्चितताका लागि माग तथा पूर्तिको अवस्था, गुणस्तरको सुनिश्चितता पूर्व सर्त हुन् । सबै पक्षहरूको गहन अध्ययन, अनुसन्धान, विश्लेषण, प्रभाव मूल्यांकनबाट मात्र सही योजना बन्न सक्छ । त्यसैले जडीबुटी तथा सुगन्धित वनस्पतिको क्षेत्रमा काम गरिरहेका, काम गर्न खोज्ने सबै संघ संस्था, समूह, सहकारी, व्यापारी, कृषक, संकलनकर्ता, प्रशोधक, क्रेता, विक्रेता सबैले एकाकार भएर नेपालमा सम्भावना रहेका जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको प्रवद्र्धन र संवद्र्धनमा हातेमालो गर्नु  आवश्यक छ ।

जडीबुटी तथा सुगन्धित खेतीमा बढावा दिँदा हाम्रा जमिन, पाखापखेरा, खोल्साखोल्सीहरूको समेत उपयोग हुनेछ । जडीबुटी तथा सुगन्धित वनस्पतिको खेती विस्तार, व्यवसायीकरण र बजारीकरणको माध्यमबाट स्वदेशमै रोजगारीका अवसरहरू सिर्जना गर्न सकिनेछ । विभिन्न प्रशोधन तथा उत्पादनका उद्योगहरू स्थापना हुने अवस्थाको विकास हुन्छ र मूल्य अभिवृद्धि भई बढीभन्दा बढी आम्दानी कृषकले पाइरहेका हुनेछन् । यसको प्रभाव अन्य कृषकहरूमा समेत परी जडीबुटी तथा सुगन्धित वनस्पति खेतीप्रति आकर्षण बढ्नेछ । यसको सिधा प्रभाव रोजगारी सिर्जनामा पर्छ नै । त्यसैले, राष्ट्रिय अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्न सक्ने सम्भावना बोकेको जडीबुटी तथा सुगन्धित वनस्पतिको अध्ययन, अनुसन्धान, खेती प्रविधि विकास, प्रशोधन तथा मूल्य अभिवृद्धिमा सघाउ पुयाउने खालका दीर्घकालीन योजनाहरू आवश्यक छन् ।

जडीबुटी तथा सुगन्धित वनस्पतिसम्बन्धी परम्परागत ज्ञानको अभिलेखीकरण हुनु जरुरी छ । के कस्ता बिरुवाको केके भाग के कति मात्रामा कसरी खाने गर्दा कुनकुन बिमार ठीक हुन्छ भन्ने ज्ञान, सीप तथा अनुभवहरू अथाह सम्पत्ति हुन् । बसाइँसराइ तथा अभिलेखीकरणको अभावमा यस्ता सम्पत्तिहरू लोप हुन सक्छन् । कति यस्ता ज्ञान, सीप तथा अनुभवहरू हुन्छन्, जुन अन्यत्र भेटिँदैनन् । पछिल्लो पटक भारतको उत्तर प्रदेशस्थित कन्नाउज सहर भ्रमणका क्रममा त्यहाँ एक परम्परागत अत्तर उद्योग अवलोकन गर्ने अवसर मिलेको थियो । जुन परम्परागत शैलीबाट अत्तर उत्पादन गर्ने विश्वकै नौलो उद्योग रहेछ । त्यहाँ दुई दर्जन बढी अत्तर उद्योगहरू सञ्चालनमा रहेका र हरेक घर, व्यक्ति, समूह सुगन्धित वनस्पतिको खेतीमा लागेका भन्ने जानकारी मिल्यो । यो एक उदाहरण मात्र हो । यस्ता सम्भावना नेपालमा पनि नभएका होइनन् । ठूलो संख्यामा जडीबुटी तथा सुगन्धित वनस्पतिहरू उपलब्ध छन् । यिनीहरूको व्यावसायिक खेती, प्रशोधन तथा मूल्य अभिवृद्धिमा यथेष्ट ध्यान जानु आवश्यक छ । सम्भावना अधिक छ ।

वनस्पति विभागले १३ प्रकारका जडीबुटीहरू अध्ययन अनुसन्धान र ३३ प्रकारका जडीबुटीहरू नेपालको आर्थिक विकासका लागि प्राथमिकीकरण गरेको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्रसमेत रहेकोले अन्य उपजहरूको जस्तै जडीबुटी तथा सुगन्धित वनस्पतिको बजारमा चुनौती तथा अवसर उत्तिकै रहेको छ । विश्व स्वास्थ्य संगठनको निर्देशिकाबमोजिम असल खेती आचार संहिता प्रकाशन गर्नु अत्यन्त आवश्यक छ

तर कार्यान्वयनमा ल्याउन सकिएको छैन । घरजग्गा तथा विलासिताजस्ता अनुत्पादक क्षेत्रभन्दा जडीबुटी तथा सुगन्धित वनस्पतिको विकासका लागि खर्चिन सकियो भने मुलुकलाई धेरै फाइदा हुनेछ । वन नीति २०७१ ले वनस्पति एवं जडीबुटीका नवीनतम प्रवृति र क्षेत्रहरूलाई समेटेको छ । सुगन्धित वनस्पति र जडीबुटीको समुचित संरक्षण, संवद्र्धन र सदुपयोगमा जोड दिँदै हरित रोजगारीे सिर्जना गरी आय आर्जनमा वृद्धि गराई विपन्न वर्गको जीविकोपार्जनमा सुधार ल्याउन सकिन्छ । वाणिज्य नीति २०७२ ले निर्यात सम्भावनायुक्त वस्तुहरूको सूचीमा जडीबुटी तथा सारयुक्त तेललाई पनि समावेश गरेको छ भने निर्यातयोग्य कृषि तथा वनजन्य वस्तुहरूको संकलन एवं प्रशोधन गरी निर्यात अभिवृद्धि गर्न प्रशोधन केन्द्रहरू स्थापना गर्न सहयोग पु¥याउने, गुणस्तर प्रमाणीकरणसम्बन्धी मौजुदा प्रयोगशालाहरूको सुदृढीकरण गर्ने कुरामा जोड दिएको छ । जडीबुटी तथा गैरकाष्ठ वनपैदावार नीति २०६१ ले उच्च मूल्यका जडीबुटी तथा गैरकाष्ठ वन पैदावारहरूको संरक्षण र संवद्र्धनबाट अर्थव्यवस्थामा ठोस योगदान पु¥याई जडीबुटी तथा गैरकाष्ठ वन पैदावारको बृहत् भण्डारका रूपमा परिचित तुल्याउने दीर्घकालीन सोच लिएको छ ।

वनस्पति विभागले १३ वटा जडीबुटीहरू अध्ययन अनुसन्धान तथा ३३ वटा जडीबुटीहरू नेपालको आर्थिक विकासका लागि प्राथमिकीकरण गरेको छ । नेपाल विश्व व्यापार संगठनको सदस्य राष्ट्रसमेत रहेकोले अन्य उपजहरूको जस्तै जडीबुटी तथा सुगन्धित वनस्पतिको बजारमा चुनौती तथा अवसर उत्तिकै रहेको छ । विश्व स्वास्थ्य संगठनको निर्देशिकाबमोजिम असल खेती आचार संहिता प्रकाशन गर्नु अत्यन्त आवश्यक छ । वनस्पति विभागले चिराइतो, टिमुर, सुगन्धवाल, सर्पगन्धा र तेजपातको असल खेती आचारसंहिता प्रकाशन गरिसकेको छ भने यस कार्यलाई अन्य प्रजातिमा समेत क्रमिक रूपमा अगाडि बढिरहेको छ । सबै कार्य एकै संस्थाले गर्न सम्भव हुँदैन । जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको क्षेत्रमा विभिन्न तवरले सरोकार राख्ने निकायहरू वनस्पति विभाग, आयुर्वेद विभाग, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, सिंहदरबार वैद्यखाना विकास समिति, औषधि व्यवस्था विभाग, जडीबुटी व्यवसायी संघ, जडीबुटी कृषक, हर्बल कम्पनी, निजी कृषकजस्ता सबै सरोकारवालाहरूको बीचमा स्पष्ट समन्वय हुनका लागि एक छाता नीति आवश्यक छ । कुनै पनि कार्यको डुप्लिकेसन नहोस्, गरेका कार्यहरू आधिकारिक होऊन् अनि हाम्रा जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको मूल्य अभिवृद्धि भई राष्ट्रिय आयमा बढोत्तरी होस् भन्नाको खातिर सबैको ध्यान केन्द्रित हुनु जरूरी छ ।

जडीबुटी तथा सुगन्धित वनस्पतिको खोज अनुसन्धान, प्रविधि विकास तथा विस्तार, व्यवसायीकरण तथा बजारीकरणमा यथेष्ट ध्यान दिनसकेमा समग्र आर्थिक तथा सामाजिक विकासमा मद्दत पुग्न सक्छ । कृषि भूमिका रूपमा उपयोग हुन नसक्ने भूमिमा समेत जडीबुटी तथा सुगन्धित खेती गर्न सकिने हुँदा जडीबुटी तथा सुगन्धित वनस्पतिहरूबाट नियमित बालीका साथसाथै अतिरिक्त लाभ लिन सकिने हुन्छ । अन्य कृषिबालीमा जस्तो रोगव्याधी पनि लागि राख्दैन र प्रतिकूल हावापानीसमेत जडीबुटी तथा सुगन्धित वनस्पतिहरूले सहन सक्छन् । प्रतिकूल अवस्थामा विभिन्न खालका जैविक पदार्थहरू उत्पादन हुने र तिनै जैविक पदार्थहरूको विश्व बजारमा अत्यधिक माग हुने कारणले गर्दा यस्ता वनस्पतिहरूको महŒव थपिँदै गएको छ । त्यस्तै, परम्परागत बालीलाई जस्तो त्यति बढी स्याहार सम्भार गर्नुपर्दैन भने अन्य जनावरहरूबाट हानी नोक्सानी हुने सम्भावना पनि न्यून छ । थोरै लगानी र मेहनतमा अधिक फाइदा लिन सकिने भएकोले जडीबुटी तथा सुगन्धित वनस्पतिहरूको व्यावसायिक खेती एक गहन अवसर हो ।