बालअधिकार संरक्षणका चुनौती

बालअधिकार संरक्षणका चुनौती

विष्णुकुमारी लामिछाने

नेपालमा बालबालिकाको क्षेत्रमा बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन भएपछि थुप्रै कानुनी तथा नीतिगत प्रयासहरू भएका छन् । बालअधिकारका चार आयामहरू बालबचाउ, बालसंरक्षण, बालविकास र बालसहभागितालाई प्रवद्र्धन गर्नका लागि सरकारी र गैरसरकारी तवरबाट पनि पहलहरू भइरहेका छन् । तथापि पारिवारिक तथा सामाजिक रूपमा घट्ने केही घटनाहरूको प्रत्यक्ष मार खेपिरहेका छन् बालबालिकाहरू । बाबुआमालगायत संरक्षकको गैरजिम्मेवारीपना, सामाजिक रूपमा दायित्वबोध नहुनु, पारिवारिक हिंसा, राज्यबाट गठित स्थानीय संरचनाहरूको क्रियाशीलतामा कमिजस्ता विविध समस्याहरूले बालअधिकार संरक्षण एक जटिल समस्याका रूपमा देखा पर्दै गइरहेको छ ।

हाम्रो समाजमा बालबालिकाका अभिभावकले बहुविवाह र पुनर्विवाह गर्ने प्रचलन कायम नै छ । बाबुले अर्को विवाह गरी घर छोड्ने या बालबच्चा र श्रीमतीको हेरविचार नगर्ने उदाहरणहरू हाम्रा छरछिमेकमा धेरै छन् । श्रीमान्को माया, ममता र हेरविचार नभएपछि आमाले पनि आफ्ना बालबच्चा छोडेर पुनर्विवाह गरी अन्यत्रै जाने परिपाटी पनि छ । त्यसपछि थुपै्र बालबालिकाहरू बिचल्लीमा पर्ने गरेका छन् । समाजले बालबालिकाहरू कठिन परिस्थितिमा परेपश्चात् आफन्त अर्थात् समाजमा नै पुनःस्थापना गर्ने प्रयास नगरी बालगृहको खोजी गर्ने गर्छन् । जसले गर्दा बालबालिकाहरूले हुर्किने उपयुक्त वातावरण प्राप्त गर्न सकिरहेका हुँदैनन् ।

दिनहुँजसो कयौं बालबालिकाहरू हराइरहेका छन् । कतिपयको खोजी गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी पर्ने गरेको पाइन्छ भने कतिको त्यही पनि प्रयास हुन सकेको छैन । बालबालिकाको खोजी गरी पाऊँ भनी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएका पनि अधिकांश बालबालिकाहरू फेला परेका छैनन् । यसबाट बालबालिकाहरू ललाई फकाइमा परी विभिन्न प्रयोजनका लागि ओसारपसार तथा बेचबिखनमा परिरहेका छन् भन्ने सहजै अनुमान गर्न सकिन्छ ।
हिजोआज हाम्रो समाजमा अनुमानसम्म पनि गर्न नसकिने घटनाहरू भइरहेका छन् । आफूलाई जन्म दिने बाबुआमाबाट पनि सुरक्षित छैनन् बालबच्चाहरू । कहीं बाबुले छोराछोरीको हत्या, बेचबिखन, छोरीलाई बलात्कार गरेका कुकार्य सुनिन्छन् भने कहीं आमाले बाहिरी मानिसहरूसँग मिलेर छोराछोरीको हत्या गरी आगो लगाएका घटनाहरू सुनिन्छन् । साथै परिवारमा आइपर्ने समस्याहरू सहन नसकी बच्चाबच्चीको हत्या गरी आफू पनि मर्ने योजना बुनेका आमाहरू बालबच्चा मारेर आफू बाँचिरहेका घटनाहरू पनि हाम्रो नेपाली समाजमा छन् । यसैगरी, पैसा कमाउने हतियारका रूपमा पनि आफ्ना बालबालिकाहरू प्रयोग गरेका समाचारहरू पनि सञ्चार माध्यममा सुनिन्छन् ।

दिन प्रतिदिन समाजमा सम्बन्ध विच्छेदका घटनाहरू बढ्दै गइरहेका छन् । श्रीमान् श्रीमतीमा आउने सामान्य विवादले ठूलो रूप लिन पुग्दा सम्बन्ध विच्छेदको अवस्था सिर्जना हुन्छ । सम्बन्ध विच्छेदबाट दुवै जनालाई असर त गर्छ नै । अझै त्यसको प्रत्यक्ष र गहिरो असर तिनीहरूका बालबच्चामा पर्न जान्छ । बाबु र आमाको सम्बन्ध बिग्रिँदा छोराछोरीले अभिभावकबाट प्राप्त गर्नुपर्ने मायाबाट वञ्चित हुन पुग्छन् । सम्बन्ध विच्छेदपश्चात् छोराछोरी यदि पाँच वर्षमुनिका छन् र आमाले राख्न चाहन्छिन् भने आमाले र नचाहेमा बाबुले राख्ने कानुनी प्रावधान रहेको छ । व्यवहारमा हेर्दा बाबुसँग मात्र रहेका छोराछोरीले राम्रोसँग स्याहार सुसार, माया ममता, पाउन नसकेको र आमासँग मात्र रहेको सन्तानले अधिकारको उपभोग गर्न नपाएको या समस्यामा
परेको देखिन्छ ।

विगतमा नेपालमा लामो सशस्त्र द्वन्द्वको समयमा भएका गरिएका नकारात्मक प्रभाव तथा सामाजिक, राजनीतिक, सांस्कृतिकलगायतका गतिविधिका कारण बालबालिकामा नराम्रो असर पर्न गयो । कति बालबालिकाहरू बेपत्ता पारिए, कति बालबालिकाहरू मारिए, कोही अभिभावकविहीन भए भने सबै बालबालिकाहरू त्रसित वातावरणमै हुर्किए । नेपालमा समय समयमा हुने बन्द, हड्ताल, चक्काजाम, शैक्षिक संस्था बन्दजस्ता क्रियाकलापको मारमा बालबालिकाहरू परिरहेका छन् । परिवार, समाज र सिंगो राष्ट्रमा नै घट्ने नकारात्मक क्रियाकलापको प्रत्यक्ष मार खेप्न बाध्य भइरहेका हुन्छन् । भिन्न परिस्थितिमा बालबालिकाका मुद्दाहरू झनै ओझेलमा पर्ने गरेका छन् ।

कठिन परिस्थितिमा परेका बालबालिकालाई सकेसम्म बालगृहमा सिफारिस नगरी परिवार, आफन्त या छिमेकमै पुनःस्थापना गर्ने प्रयास गर्नु उत्तम हुन्छ । अबोध बालबालिकालाई बेवारिसे बनाउने अभिभावक, कामदारका रूपमा प्रयोग गर्ने व्यापारी, व्यवसायी या परिवार साथै ओसारपसार गर्नेलाई तत्काल कानुनी दायराभित्र ल्याउन सक्ने हो भने केही हदसम्म भए पनि बालबालिकाहरूले सुरक्षित वातावरण अवश्य प्राप्त गर्न सक्नेछन्

लामो समय होस् या छोटो समय, वैदेशिक रोजगारीमा बसेका केही विवाहित महिला पुरुषले स्वदेशमा रहेको आफ्नो परिवार बिर्सिएर पुनःविवाह गर्ने गरेको यथार्थ हाम्रो समाजमा छन् । परिवारको लालनपालनका लागि बिदेसिएकाहरूले आफ्नो यथार्थ बिर्सिएका कारण आश्रित परिवारको बिचल्ली भइरहेको छ । बालबालिकाहरू आफ्ना अभिभावकको माया, स्याहार, संरक्षण, हेरचाहबाट वञ्चित भइरहेका छन् । जसले उनीहरूलाई भविष्यमा एक असल र सिर्जनशील वयस्कका रूपमा समाजमा स्थापित हुने गरी हुर्किने वातावरणबाट अलग गराइरहेको हुन्छ ।

परिवारमा निरन्तर हुने झैझगडा, हिंसाका घटना, बेमेल, मनमुटाव, बहुविवाहलगायतका कारण बालबालिकाहरू परिवार छोडेर भाग्ने गरेका छन् । यसरी, पीडाबोध गरी भागेका बालबालिकाको फाइदा होटल व्यवसायी, ठेकेदार, गाडी मालिक, साहु महाजनहरूले उठाइरहेका छन् । सस्तो पारिश्रमिकमा पनि काममा लगाउन पाइने भएको हुँदा उद्धारको निहुँमा अबोध बालबालिकाहरू प्रयोग भइरहेका छन् । धेरै बालकहरू गाडीमा खलासीको काम गरिरहेको, होटेलमा भाँडा माझेको, इँटाभट्टामा काम गरिरहेको, सडकमा बोरा बोकेर या डेन्ड्राइट्स सुँघेर हिँडेको, अन्यत्र परिवारमा बसी काम गर्ने गरेको हामीले दिनहुँ देखिरहेका छौं । कतिपयले पीडा सहन गर्न नसकेर आत्महत्या गरेका पनि छन् । यति हुँदाहुँदै पनि पुनःस्थापनाको वैकल्पिक व्यवस्था, बेवास्ता गर्ने परिवारका सदस्यलाई कारबाही गर्ने परिपाटी र बालबालिकालाई यथाशीघ्र परिवारमा पुनःस्थापना गर्ने स्थानीयको तदारुकता नहुँदा अधिकारकर्मी नै मुकदर्शक बन्न बाध्य भइरहेको अवस्था छ ।

आजभोलि केही बालबालिकालाई हाम्रा अभिभावकहरूले सामाजिक सञ्जालको प्रयोग गर्ने वातावरण प्रदान गरेको पाइन्छ । फेसबुकलगायतका माध्यमबाट परिचित या अपरिचित व्यक्तिलाई साथी बनाई नजिकिन पुग्छन् । जसबाट कसैले बालविवाह गर्ने, कोही काम गरी पैसा कमाउने प्रलोभनमा फस्ने, पढाइ छोडेर कुलतमा लाग्नेलगायतका विकृतिजन्य क्रियाकलापहरूमा सरिक भएका छन् । यसर्थ आफ्ना बालबालिकालाई असल नागरिक बनाउन उनीहरूका लागि कुन समयमा के आवश्यक छ भन्ने कुराको हेक्का अभिभावकहरूले गर्नुपर्ने देखिन्छ ।

गाउँघरमा होस् वा सहर बजारमा दिनहुँजसो यौन हिंसाका घटनाहरू सुन्नमा आउँछन् । आफ्नै बाबुबाट पनि छोरीहरू सुरक्षित हुन सकिरहेका छैनन् । बलत्कारका कारण कति बालिकाहरू आमा बन्न पुगेका छन् । इज्जत गुम्ने डरले या कानुनी अनविज्ञताको कारण समयमै उजुरी गर्न नसक्नुले वास्तविक पीडितले न्याय प्राप्त गर्न सकिरहेका छैनन् । कालान्तरमा गरिने पीडाबोधले मात्र कानुनी उपचारतर्फ लाग्ने प्रेरणा दिन्छ । समय बितिसकेपछि प्रमाण लोप हुँदै जान्छन् । पीडितले मुद्दा हार्छन् । जसले गर्दा बलात्कारीहरू निडर भई बालबालिकाको इज्जतमाथि खेलवाड गर्न सल्बलाइरहेका हुन्छन् ।
अन्त्यमा, हरेक समाजमा बालबालिकासम्बन्धी थुप्रै समस्याहरू छन् । नेपालको संविधान २०७२ ले स्थानीय तहलाई थुप्रै अधिकारहरू प्रदान गरेको छ । स्थानीय तह स्रोतसाधनसहित अधिकार सम्पन्न भएको हुँदा योजना तर्जुमा गर्दा अन्य विकास निर्माण कार्यलाई जस्तै बालबालिकाका सम्पूर्ण मुद्दाहरूलाई पहिचान गरी प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने देखिन्छ । कठिन परिस्थितिमा परेका बालबालिकलाई सकेसम्म बालगृहमा सिफारिस नगरी परिवार, आफन्त या छिमेकमै पुनःस्थापना गर्ने प्रयास गर्नु उत्तम हुन्छ । अबोध बालबालिकालाई बेवारिसे बनाउने अभिभावक, कामदारका रूपमा प्रयोग गर्ने व्यापारी, व्यवसायी या परिवार साथै ओसारपसार गर्नेलाई तत्काल कानुनी दायराभित्र ल्याउन सक्ने हो भने केही हदसम्म भए पनि बालबालिकाहरूले सुरक्षित वातावरण अवश्य प्राप्त गर्न सक्नेछन् ।

लामिछाने महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयकी महिला विकास  अधिकृत हुन्