पञ्चेश्वर परियोजनाको डीपीआरमा ठोस सहमति हुन्छ : उपाध्याय

काठमाडौं / रास– भदौको पहिलो साता हुने प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा नयाँ सहमति नहुने भएका छन् । भ्रमणमा पुराना सम्झौताहरूलाई कार्यान्वयनमा जोड दिइने भएको छ । प्रधानमन्त्रीको यसपटकको भारत भ्रमण विगतका सहमति र सम्झौता कार्यान्वयनमा केन्द्रित हुने भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले जानकारी दिए । उनले भ्रमण विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन हुनेगरी ठोस सहमति हुने बताए ।
प्रधानमन्त्री देउवा ७ भदौमा भारतको औपचारिक भ्रमणमा निस्कँदै छन् । चौथोपटक प्रधानमन्त्री भएपछिको उनको यो पहिलो विदेश भ्रमण हुनेछ ।
शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै राजदूत उपाध्यायले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नमिलेका विषय मिलाउने तथा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण अगाडि बढाउने विषयमा ठोस सहमति हुने जानकारी गराए ।
‘प्रधानमन्त्री देउवाको भारत भ्रमणमा विगतको सम्झौता र सहमति कार्यान्वयनबारे गम्भीर छलफल गरी टुंगोमा पु¥याउने मुख्य एजेन्डा बनेको छ,’ राजदूत उपाध्यायले भने, ‘यो भ्रमणले भारतसँग विगतमा पूर्वाधार विकासमा भएका सहमति र सम्झौता कार्यान्वयनलाई मूर्त रूप दिने गरी कुराकानी हुन्छ ।’