पुस्तक मेलामा विमोचनदेखि हस्ताक्षरसम्म

राजधानी समाचारदाता / काठमाडौं

राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा बिहीबारबाट सुरु भएको ‘२१औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०७४’ शनिबार पाठकको उल्लेख्य भिड रह्यो । झरीको बेवास्ता गर्दै पुस्तकप्रेमीहरू प्रदर्शनीमा सहभागी भए ।

प्रदर्शनीमा अग्रज कवि एवं गीतकार दिनेश अधिकारीको ‘तस्बिरको कथा’लाई नेपाल सरकारका मुख्य सचिव राजेन्द्र किशोर क्षत्री, अग्रज गायक प्रेमध्वज प्रधान र प्रा.डा. अभि सुवेदीले शुक्रबार संयुक्त विमोचन गरे ।

समारोहमा डा. सुवेदीले अहिलेसम्मकै नयाँ ढंगले लेखिएको पुस्तक कवि अधिकारीले ल्याएको बताए । मुख्य सचिव क्षत्रीले यो तस्बिरले बोल्ने कुरालाई पुस्तकमा अझ राम्रोसँग गीतकार एवं कविद्वारा बोलेको बताए । गायक प्रधानले यो पुस्तक हरेक पुस्तकालयमा हुनुपर्ने बताए ।

शनिबार कार्यक्रममा कवि एवं गीतकार अधिकारीले सो पुस्तकको हस्ताक्षर गरेका थिए । शनिबार प्रदर्शनीमा पुस्तक हस्ताक्षर कार्यक्रम राखिएको थियो । सो क्रममा वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशीले आफ्नो मूर्तिकलासम्बन्धि पुस्तक ‘नेपाली कलाको रूपरेखा (प्राचीन र मध्यकालीन) मा डा. नवराज लम्सालले आफ्नो महाकाव्य धरामा, उपन्यासकार हरिमाया भेटवालले आफ्नो उपन्यास कल्लीको, उपन्यासकार रेशम बिरहीले आफ्नो उपन्यास प्रेमदाशको डायरीको, कथाकार डब्बु क्षत्रीले आफ्नो कथासंग्रह नमस्ते काठमान्डुको हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा पाठकको उल्लेख्य सहभागिता थियो ।

शनिबार नै पुस्तक प्रदर्शनीमा साहित्यकार गीता केशरीको उपन्यास नयाँ अध्यायको विभिन्न सर्जकले विमोचन गरे । शनिबार प्रदर्शनीमा कविता कार्यक्रम राखिएको थियो ।