हेमप्रभासले ल्याए उल्झन

काठमाडौं / रास– कवि हेमप्रभासको उपन्यास उल्झनको शनिबार राजधानीमा एक समारोहबीच अभिनेता राजेश हमाल, पत्रकार युवराज घिमिरे, डा. नवराज लम्साल, समालोचक महेश पौड्याल र लेखक स्वयंले संयुक्त लोकार्पण गरे ।

पत्रकार युवराज घिमिरेले वर्तमान समाजको परिकल्पना, विस्थापनजस्ता सम्पूर्ण कथाको सही प्रयोग नै उल्झन हो भने निराशाभित्रको आशा नै उपन्यासको भाव भएको बताए । उनले साहित्यमा जति अराजकता पत्रकारितामा पनि भएको उल्लेख गर्दै समाजमा भएको अराजकताको विपक्षमा उपन्यास केन्द्रित रहेको छ भने ।

अभिनेता राजेश हमालले पुस्तकमाथि बोल्दै उल्झन उपन्यासले युवाहरूको वर्तमान मनोदशा र देशको समसामयिक अवस्थालाई चित्रण गरेको बताए । यस्तै कथामा चलचित्र निर्देशन गर्न चाहना रहेको पनि उनले बताए ।

डा. नवराज लम्सालले उल्झन उपन्यास कविताबाट उठेको हो भन्दै यसमा खोलाको सुस्केरा, दुःखको गीत, आँसुको रङ हरेक पाठकले आफ्नै ठानेर महसुस गर्न सक्ने विश्वास व्यक्त गरे । कार्यक्रमा महेश पौड्यालले उल्झन उपन्यासले सुन्दर नृत्यको अनुभूति हुने बताए ।