‘मुलुकको संबृद्धि सरकारको प्राथमिकता हो, रक्षा मन्त्री : प्रधान

राजधानी संवाददाता
भदौ १५ काठमाडौं

रक्षामन्त्री भिमसेनदास प्रधानले काठमाडौं निजगढ दु्रत मार्गले मुलुकमा संबृद्धिको ढोका खोल्ने बताएका छन ।  राजधानीमा बिहिबार ‘ज्येष्ठ नागरिक समाज नेपाल’ले आयोजना गरेको कार्यक्रममा बोल्दै रक्षा मन्त्री प्रधानले काठमाडौं निजगढ दु्रत मार्गले मुलुकमा संबृद्धिको ढोका खोल्ने बताएका हुन ।  ‘मुलुकको संबृद्धि सरकारको प्राथमिकता हो, द्रुत मार्गलाई सरकारले मुलुकको संबृद्धिसँग जोडेको छ, द्रुत मार्गले संबृद्धिको ढोका खोल्छ,’ मन्त्री प्रधानले भने ।


कार्यक्रममा मन्त्री प्रधानले ज्येष्ठ नागरिकको सम्मानमा सरकारले सधै अग्रसरता देखाइरहेको भन्दै सबैले आफ्नो घरबाटै ज्येष्ठ नागरिकको सम्मानलाई प्राथमिकतामा राख्नु पर्ने बताए । उनले आफ्नो जन्मदातालाई बृद्ध अवस्थामा साहारा दिनु नै सबै भन्दा ठुलो सम्मान हुने भन्दै त्यसबाट सधै पूण्य प्राप्त हुने बताए ।

कार्यक्रममा ज्येष्ठ नागरिक समाजले दुई असल बुहारी र एक असल छोरीलाई सम्मान समेत गरेको छ । असल बुहारीबाट सम्मानीत हुनेहरुमा काठमाडौं महाँनगरपालिका ६ की पुष्पा नकर्मी, वडा नम्बर १८ की नानी छोरी महर्जन र आफ्नै बुवा हिराकाजी महर्जनलाई कलेजो दिएर पुर्नजन्म दिने असल छोरी सरिता महर्जन सम्मानीत भएका हुन । सम्मानीत सबैलाई रक्षा मन्त्री प्रधानले प्रमाणपत्र सहित खादा ओडाएर सम्मान गरेका हुन ।
सम्मानीत सरिता प्रधानले बुवाको अन्तिम अवस्थामा आफुले कलेजो दिएर बुवाको ज्यान जोगाएको भए पनि त्यस्तो दुखद् अवस्था नआउँनु नै उत्तम हुने बताइन । कार्यक्रममा समाजका अध्यक्ष डिल्लीराम नकर्मी, १७ वडाका अध्यक्ष नविन मानन्धर लगायतले ज्येष्ठ नागरिकका लागि सबैले उच्च प्राथमिकताका साथ सम्मान गर्नु पर्ने धारणा राखेका छन ।