साना किसान विकास बैंकमा नयाँ सीईओ

काठमाडौं / रास– साना किसान विकास बैंकको सञ्चालक समितिले चारबर्से कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा डा. शिवरामप्रसाद कोइरालालाई नियुक्त गरेको छ । व्यवस्थापनमा स्नातकोत्तर एवं बैंकिङको वित्तीय दिगोपनामा विद्यावारिधि गरेका डा. कोइरालाले कृषि विकास बैंकमा २७ वर्ष सेवा गरेका छन् । कृषि विकास बैंकका तर्फबाट यस बैंकको संस्थापक कर्मचारीका रूपमा ९ वर्ष योगदान गरिसकेका कोइराला लामो अवधिसम्म कृषि विकास बैंकको अधिकृत प्रथम श्रेणीमा कार्यरत थिए । विगत डेढ वर्षदेखि साना किसान विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत डा. कोइराला वित्तीय दिगो विकास एवं लघुवित्तका ज्ञाता मानिन्छन् ।

जलनकुमार शर्माले साना किसान विकास बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा आफ्नो आठबर्से कार्यकाल पूरा गरेका थिए । पद एवं गोपनीयताको शपथग्रहण तथा नियुक्ति कार्यक्रममा शर्माले साना किसान विकास बैंक ग्रामीण लघुवित्त क्षेत्रमा नेपालकै अगुवा बैंक बन्न सफल भएको र नवनियुक्त कार्यकारी प्रमुख यस बैंकको नेतृत्व गर्न सफल भएको बताए ।

बैंकका अध्यक्ष खेमबहादुर पाठकले यस बैंकका पूर्वकार्यकारी प्रमुख जलनकुमार शर्मालाई आफूले कर्मचारी मात्र नभई अभिभावकका रूपमा हेरेको र उनको साथ सहयोग सदैव प्राप्त हुने विश्वास व्यक्त गरे । साथै उनले नवनियुक्त डा. कोइराला आफैंमा काफी, योग्य र अनुभवी व्यक्तित्व भएकाले नेपालको ग्रामीण गरिबी निवारणमा साना किसान विकास कार्यक्रमलाई सफलतापूर्वक विस्तार गर्दै बैंकलाई अझ समृद्ध बनाउन सफल हुने विश्वास लिए ।