आजदेखि डिन सम्मेलन

इटहरी / रास– डिप्लोमा इन्जिनियर्स एसोसिएसन नेपाल (डिन) को १३औं राष्ट्रिय सम्मेलन पहिलोपटक सुनसरीको इटहरीमा बिहीबारबाट सुरु हुने भएको छ । सार्क टेक्नोलोजी सेन्टरको कार्यालयसमेत रहेको इटहरीमा आयोजना हुन लागेको सो कार्यक्रमको सबै तयारी पूरा भएको आयोजक समितिको व्यवस्थापन संयोजक तथा डिनका केन्द्रीय सदस्य जीवन घिमिरेले बताए । सार्क टेक्नोलोजी सेन्टरको कार्यालयसमेत इटहरीमै भएको र पहिलोपटक उपत्यकाबाहिर पनि कार्यक्रम गरौं भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको डिनका केन्द्रीय अध्यक्ष कामेश्वरप्रसाद सिंहले बताए ।

देशभरि २५ हजारभन्दा बढी सदस्य रहेको यस सम्मेलनमा पर्यवेक्षकका रूपमा बंगलादेश, भारत र श्रीलंकाबाट सात जना तथा देशभरका स्थानीय निकायबाट ४ सय ५० जना इन्जिनियर सहभागी हुने बताइएको छ । कार्यक्रममा सदस्यहरूको क्षमता वृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरको सेमिनार आयोजना गरिएको छ । स्थानीय तहमा भौतिक पूर्वाधार विकास, सम्भावना र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा डिनका संस्थापक सदस्य देवेन्द्रबहादुर कार्की र जीवनकुमार श्रेष्ठलाई सम्मान गरिने कार्यक्रम रहेको छ । यसैगरी तीनवर्षे कार्यकालका लागि निर्वाचनसमेतका कार्यक्रम रहेका छन् । कार्यक्रम सम्पन्न्न गर्न २६ लाख खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।