पूर्वराष्ट्रपति मुसर्रफ भगौडा, दुई प्रहरी अधिकारीलाई १७ वर्षको जेल सजाय

इस्लामाबाद । पाकिस्तानी पूर्वप्रधानमन्त्री तथा पाकिस्तान पिपुल्स पार्टीकी नेतृ बेनजिर भुट्टोको हत्याकाण्डमा पाकिस्तानी अदालतले पूर्वराष्ट्रपति परवेज मुसर्रफलाई भगौडा घोषित गरेको छ । सन् २००७ मा पाकिस्तानको रावलपिन्डीमा चुनावी सभालाई सम्बोधन गरिरहेका बेला बम विस्फोट गराएर भुट्टोको हत्या गरिएको थियो ।

पाकिस्तानको आतंकवाद निरोधक अदालतले करिब एक दशकपछि सो मामलामा फैसला सुनाउँदै दुई जनालाई १७ वर्षको जेल सजाय र ५ लाख जरिवाना गरिएको छ भने अन्य पाँच जनाले सफाइ पाएका छन् । दुईपटक पाकिस्तानी प्रधानमन्त्री बनेकी भुट्टोको ५४ वर्षको उमेरमा २७ डिसेम्बर २००७ मा रावलपिन्डीमा हत्या भएको हो ।

सो घटनालगत्तै अदालतमा मुद्दा दर्ता गरिए पनि करिब १० वर्षपछि सो घटनाको सुनुवाइ अन्त्य भएको हो । अदालतले यसअघि नै पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफको सम्पत्ति जफत गर्न आदेश दिएको थियो । उनी गत वर्षदेखि नै पाकिस्तानबाहिर रहेका कारण उनलाई भगौडा घोषित गरिएको हो ।

न्यायाधीशले पाँच आरोपी ऐतजाज शाह, शेर जमान, हसनैन गुल, अब्दुल रासिद र रफाकत हुसैनलाई सफाइ दिएको हो । गिरफ्तार भएका पाँच संदिग्ध अडियाला जेलमा रहेका छन् । सुरक्षाका कारण उनीहरूलाई अदालतमा पेस नगरी जेलमा नै सुनुवाइ गरिएको हो । पूर्वप्रहरी अधिकारी सउद अजिज र खुर्रम शहजादलाई पूर्वप्रधानमन्त्रीजस्तो विशिष्ट व्यक्तिको सुरक्षामा लापर्बाही गरेको आरोपमा १७ वर्षको जेल सजाय सुनाइएको हो ।

आतंकवाद निरोधक अदालतका न्यायाधीश असगर अली खानले अडियाला जेलमा सुनुवाइपछि फैसला सुनाएका हुन् । उनले तहरिक ए तालिबान आतंकवादी समूहका पाँच र दुई वरिष्ठ प्रहरी अधिकारीमाथि फैसला सुनाएका हुन् । भुट्टोको हत्या भएको समयमा पाकिस्तानमा राष्ट्रपति रहेका मुसर्रफ पाकिस्तान फर्किएमा उनको बेग्लै सुनुवाइ हुनेछ ।

सफाइ पाएका पाँच जना र दुई जना प्रहरी अधिकारी सन् २००७ देखि नै जेलमा रहे पनि दुई प्रहरी अधिकारी सन् २०११ मा जमानतमा रिहा भएका थिए । फैसलाको समयमा सबै आरोपी उपस्थित थिए ।
पाँच जनाविरुद्ध सन् २००८ मा सुनुवाइ सुरु भए पनि मुसर्रफ, अजिज र शहजादविरुद्ध संघीय जाँच एजेन्सीको जाँचपछि सन् २००९ मा सुनुवाइ सुरु भएको थियो । यस अवधिमा विभिन्न आठ जना न्यायाधीशले सुनुवाइ गरे । उनीहरूलाई विभिन्न कारण देखाउँदै परिवर्तन गर्ने गरिएको थियो ।

बेनजिर भुट्टोको हत्याका लागि सुरुमा पाकिस्तान पिपुल्स पार्टीका प्रमुख बैतुल्ला मेहसुदलाई जिम्मेवार ठहर गरिएको थियो । मुसर्रफ सरकारले मेहसुदले एक व्यक्तिसँग कुराकानी गरेको अडियो सार्वजनिक गरेको थियो । जसमा उनले भुट्टोको हत्याका लागि बधाई दिइरहेका थिए ।

यद्यपि एफआईएका मुख्य अभियोजक मोहम्मद अजहर चौधरीले यो अडियो रेकर्डको प्रमाण तथा फोनवार्ताको बेहोरा खारेज गरिदिएका थिए । उनले मुसर्रफले जाँचकर्तालाई गुमराहमा राख्न तथा आफूलाई बचाउनका लागि यो षड्यन्त्र रचेको उल्लेख गरेका थिए ।