मुम्बईमा पाँचतले भवन भत्कियो, ११ जनाको मृत्यु

मुम्बई । दक्षिण मुम्बईको भायखलाको जेजेमार्गमा एउटा पाँचतले भवन भत्किँदा ११ जनाको मृत्यु भएको छ । मृतकमध्ये आठ पुरुष र तीन जना महिला रहेका छन् । अहिलेसम्म सो भवन भत्किँदा पुरिएका २४ जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ भने अझै १० जनाभन्दा बढी बेपत्ता रहेका बताइएको छ ।

बिहान करिब साढे ८ बजे भत्किएको सो भवन कति तले थियो भन्ने बारेमा प्रहरी र फायर ब्रिगेडको भनाइ बाझिएको छ । प्रहरीले सो भवन तीनतले भएको बताएको छ भने फायर ब्रिगेडले पाँचतले भएको जनाएको छ ।

स्थानीयले सो भवनका दुई तला गैरकानुनी रूपमा बनाइएको बताएका छन् । जेजे अस्पतालका अधिकारीहरूले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाएका छन् । पुनर्निर्माण गर्नुपर्ने चर्चा चलिरहेको सो अति पुरानो भवन मुम्बईमा केही दिनदेखि जारी अविरल वर्षाका क्रममा ढलेको हो ।

सो भवन ढल्दा पुरिएका थप व्यक्तिको जीवितै उद्धारका लागि ठूलो संख्याका उद्वारकर्मीले बिहानैदेखि प्रयास जारी राखेका छन् । प्राकृतिक प्रकोप विभागका एकजना अधिकारीले सो भत्किएको भवनको भग्नावशेषबाट ११ जनाको शव निकालिएको जानकारी दिएका छन् । भारतीय प्रहरीको विशेष कमान्डोसम्मिलित ४३ जनाले उद्धारकार्य जारी राखेको बताइएको छ । उनीहरूले सो भवनमा नौ परिवार बस्दै आएको जनाएका छन् ।