रोकिएन सुन तस्करी, फेरि १५ किलो सुुनसहित सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १५ किलो सुनसहित सात जनालाई पक्राउ गरेको छ । चीनबाट भित्रिएको २२ किलो अवैध सुनमध्ये १५ किलो मात्रै बरामद भएको हो ।

काठमाडौं सामाखुसीबाट १४ किलो र जनकपुरबाट १ किलो गरी १५ किलो सुन नियन्त्रणमा लिइएको हो । २२ किलो सुन स्टोर गरेर थोरै परिमाणमा बाहिरिँदै गरेको सूचनाका आधारमा प्रहरीले सामाखुसीमा छापा मार्दा १४ किलो बरामद भएको थियो भने १ किलो भारततर्फ निकासी हुँदै गरेको अवस्थामा जनकपुरबाट बरामद गरेको हो ।

‘२ किलो काठमाडौंवरिपरि भएको सूचना छ, २ किलो सीमापारी पुगिसकेको सूचना छ भने बाँकी ३ किलोको विषयमा पनि नेपालभित्रै भएको सूचना छ,’ सीआईबी प्रमुख डीआईजी कार्कीले भने ।

सो सुनसँगै काठमाडौं टोखाका पेम्बादोर्जे शेर्पा, भक्तपुर सूर्यविनायकका दीपेन्द्र थापा, राजेन्द्र खत्री, रवीन खत्री, काठमाडौं बानेश्वरका सरोज थापा, काभ्रे पाँचखालका विष्णु गौतम र धनुषा जनकपुरका दीपककुमार साहसहित सात जना पक्राउ परेका छन् । सीआईबीले चीनबाट रसुवा हुँदै काठमाडौं भिœयाउने क्रममा सुन बरामद भएको जनाएको छ । २२ किलोमध्ये ८ किलो सुन काठमाडौं बानेश्वरका दीपेन्द्र थापा र सरोज थापाले किनेका थिए । उनीहरूले किनेको सुनमध्ये २ किलो काठमाडौंमै बेचेका र अरू केही सुन भारत निकासी भइसकेको प्रहरी अनुमान गरेको छ ।

प्रहरीले उनीहरूको साथबाट बा१०च ४११३ भएको सेतो रङको गाडी, एक थान स्कुटर, ६ सय अमेरिकी डलर र १ हजार १ सय ९९ चिनियाँ मुद्रा युयान पनि बरामद गरिएको छ । संगठित अपराधका रूपमा सुन तस्करी भएको सीआईबीले जनाएको छ ।

सीआईबीका अनुसार संगठित अपराध ऐनअन्तर्गत सात दिनको म्याद लिएर सुन तस्करीबारे अनुसन्धान जारी राखिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको करिब ३४ किलो सुन बरामद भएको करिब ६ महिनापछि ब्युरोले सो परिमाणको सुन बरामद गरेको हो । ‘यो सामान्य विषय हुँदै होइन, यसअघि बरामद भएको ३४ किलो सुन ल्याउने गिरोह र अहिले पक्राउ परेका व्यक्तिहरूको संलग्नताको विषयमा पनि अनुसन्धान हुँदै छ,’ सीआईबी प्रमुख कार्कीले भने, ‘हामी पुरानो रेकर्ड पनि पल्टाएर हेर्नेछौं र जे देखिन्छ, त्यहीअनुसार अनुसन्धान गर्नेछौं ।’

प्रहरीका अनुसार पक्राउ परेका सबै व्यक्ति तस्करका भरिया भए पनि मुख्य व्यक्तिसम्म पुग्न सकिने माध्यम उनीहरू नै हुन् । ‘चिनियाँ एक नागरिकले सुन दिएको देखिन्छ खरिद गर्नेहरू बढी भारतीय नै भएको बुझिन्छ, जहाँबाट सुन ल्याए पनि काठमाडौं नै यसको मुख्य केन्द्र भएको देखिन्छ,’ सीआईबी प्रमुख कार्कीले भने । उनका अनुसार बरामद गरिएको सुनको बजारमूल्य करिब ७ करोड नेपाली रुपैयाँ रहेको छ । तातोपानी नाका बन्द भएपछि अहिले केरुङ नाका हँुदै तस्करी सुरु भएको छ ।

राष्ट्र बैंकले दैनिक २० किलो सुन बिक्री गर्ने गरेको छ । तर सुनचाँदी व्यवसायीका अनुसार बजारको मागभन्दा यो ५० प्रतिशत कमी हो । एक वर्षमा ३० अर्ब रुपैयाँबराबरको सुन नेपाल राष्ट्र बैंकले खरिद गरी व्यवसायीलाई दिने गरेको छ । भारतमा हजार र ५ सय दरका नोट प्रचलन रोकिएसँगै अवैध सुन प्रतिकिलो पुरानो मूल्यभन्दा ५ देखि ७ लाख रुपैयाँसम्म महँगोमा बिक्री हुने गरेको छ । प्रहरी अनुसन्धानमा नेपाल भित्रिने अवैध सुनको ७५ प्रतिशत खपत भारतमा हुँदै आएको छ ।

हङकङ, यूएई, सिंगापुर र मलेसियामा सुन खरिद गरी तस्करले तिब्बतको ल्हासा हुँदै हाल केरुङ नाकामार्फत नेपाल ल्याउने गरेका छन् । नेपाल ल्याएको सो सुन नेपाली बजार र भारतीय बजारमा सजिलै खपत हुने गरेको छ ।

सुन तस्करी पञ्चायतकालदेखि नै सुरु भएको हो । नेपालको बाटो सुन तस्करी हुनेक्रम २०५० को सुरुवातसम्म चलेको थियो । २०४२ सालमा सुर्खेतबाट निवार्चित राष्ट्रिय पञ्चायत सदस्य चन्द्रबहादुर बुढा र २०४३ सालमा लमजुङबाट निवार्चित नरबहादुर गुरुङ अवैध रूपमा सुन ल्याउँदाल्याउँदै पक्राउ परेका थिए ।

प्रजातन्त्रकालमा विदेशबाट आउँदा भन्सार छुटमा ३ तोलासम्मका साथै भन्सार तिरेर एकै जनाले १० किलोसम्म सुन ल्याउने छुट दिँदा पनि अपुग भई भन्सार छलेरसमेत आयात हुन्थ्यो । त्यतिबेला पनि भारतीय बजारका कारण सबै सुन तस्करी हुने गरेको थियो । तर २०५५ सालमा १ सय ३३ टन सुन वैध रूपमा भित्रिएको भए पनि त्यसबेला पनि तस्करी भएको थियो ।