साहसी उद्धारक

साहसी उद्धारक

रोशन श्रेष्ठ

गत १ भदौमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयले राष्ट्रिय दैनिक र टेलिभिजनमा कार्यरत केही सञ्चारकर्मीलाई कुरिनटारस्थित सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम केन्द्रमा लगेको थियो । कार्यक्रमको उद्देश्य थियो– सशस्त्र प्रहरी बलले विपद् व्यवस्थापनमा खेलेको भूमिका सञ्चारकर्मीलाई जानकारी गराउनु । विपद् व्यवस्थापन भन्नेबितिक्कै सशस्त्र प्रहरी बल निश्चय नै अग्रपंक्तिमा आउँछ । विशेषगरी १२ वैशाख २०७२ सालमा आएको गोरखा भूकम्पमा सशस्त्र प्रहरी बलले उद्धार कार्यमा खेलेको भूमिका पछिपछिसम्म पनि सम्झनामा रहिरहनेछ ।


चार वर्षअघि सुनकोसी नदीमा गएको पहिरो, सेती नदीको प्रलय, जाजरकोट जिल्लास्थित भेरी नदीको बस दुर्घटना, पोखराको फेवातालमा डुंगा शयर गर्ने क्रममा भएको दुर्घटना, त्रिशूली नदी किनारमा विभिन्न समयमा भएका दुर्घटना, नारायणगढनजिकै इनारमा डुबेका व्यक्तिको उद्धारलगायतमा सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रले खेलेको भूमिका स्मरणीय छ ।

१ भदौको सो कार्यक्रममा सशस्त्र प्रहरी बलका तर्फबाट केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजु अर्याल, सो तालिम केन्द्रका समादेशक एसएसपी हरिशंकर बुढाथोकी, सचिवालयका नायब उपरीक्षक (डीएसपी) जीवन केसीलगायतले सशस्त्र प्रहरीले उद्धार व्यवस्थापनमा खेलेको भूमिकाबारे सञ्चारकर्मीलाई जानकारी गराएका थिए । कार्यक्रममा भिडियो क्लिप्सहरू पनि देखाइएको थियो ।

कार्यक्रमका दौरानमा जब जाजरकोटस्थित भेरी नदीमा भएको बस दुर्घटनाका ४७ जनाको शव पानीबाट निकालिएको, फेवातालमा डुबेका व्यक्तिको शव ३५ फिट मुनिबाट निकाल्न सफल भएको, एक वर्षअघि सवारी दुर्घटनामा त्रिशूलीमा बेपत्ता भएका पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि त्रिशूलीको धमिलो पानीमा सशस्त्र प्रहरीका गोताखोरहरू २५ फिटमुनीसम्म गएर खोजी गरेको, मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चन्डीभन्ज्याङ–५ स्थित कालीखोलामा गएको पहिरोले बगाएर भीरमा अड्किएको शवलाई कुशलतापूर्वक निकाल्न सफल भएको जानकारी गराइयो, सञ्चारकर्मीले त्यस्ता उद्धारककै मुखबाट त्यसबारे जान्न चाहे । सशस्त्र प्रहरी प्रवक्ता एसएसपी अर्यालले तुरुन्तै एक उद्धारकलाई बोलाउन आदेश दिए । केही क्षणमै त्यहाँ उपस्थित भए सशस्त्र प्रहरी जवान डिल्ली भट्टराई ।

सशस्त्र प्रहरी जवान भट्टराईले जब सञ्चारकर्मीमाझ उद्धार गरिएका ठाउँको अवस्था, उद्धार गर्दा आइपरेका समस्या र प्राप्त सफलता सुनाए । सबैले उनी र सशस्त्रका अन्य उद्धारकको खुलेरै प्रशंसा गरे । साथै, उनको साहसको खुलेरै कदर गरे ।
सुर्खेत दशरथपुर–४ निवासी यी सशस्त्र प्रहरी जवान भट्टराईलाई कुनै पनि दुर्घटना भएको अवस्थामा सबैभन्दा पहिला सम्झिने गरिँदो रहेछ । उद्धारका क्रममा उनले खेल्ने गरेको साहसिक भूमिका, उनको निडरपन, कार्यकौशलताका कारण उनी पहिलो रोजाइमा पर्ने गरेका हुन् । यसका लागि यी उदाहरण नै पर्याप्त छन्
एक महिनाअघि चितवनको भरतपुर महानगरपालिका–२३ नयाँ बस्तीमा इनार सफा गर्न जाँदा एक युवकको अक्सिजन कमीका कारण मृत्यु भयो । सो इनार ३५ फिट गहिरो थियो । इनारमुनिको भाग अत्यन्तै साँघुरो थियो । बिहान साढे ७ बजेको घटना थियो यो । ती युवकको मृत्युपछि प्रहरी र स्थानीय बासिन्दाले शव निकाल्न खोजे, तर सफलता मिलेन । त्यसपछि सेनालाई बोलाइयो । सेनाले लामो समयसम्म प्रयास ग¥यो, तर सकेन । त्यसपछि सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारलाई जानकारी गराइयो । सशस्त्रको टोली घटनास्थल पुग्दा साँझ ५ बजिसकेको थियो । सशस्त्रले शव निकाल्न उनै भट्टराईलाई अगाडि सा¥यो । यी सशस्त्र प्रहरी जवान भट्टराई उद्धारका लागि आवश्यक पर्ने सामान र अक्सिजन बोकेर छिरे इनारभित्र । इनारभित्र छिपछिपे पानीमा अद्र्धनग्न अवस्थामा थियो ती व्यक्तिको शव । उनले साहसपूर्वक शवलाई बाँधे । अनि बाहिर निस्कन खोजे । इनार साँघुरो भएकाले निस्कन समस्या भयो । बोकेको अक्सिजन सिलिन्डर पनि ठोक्कियो । तैपनि उनले हरेस खाएनन् । र, बाहिर निस्कन सफल भए । उनी बाहिर निस्केपछि सशस्त्र प्रहरी बलले ती व्यक्तिको शवलाई बाहिर निकाल्यो ।

केही समयअघि फेवातालमा माछा मार्न जाँदा दुई जनाको डुबेर मृत्यु भएको थियो । उनीहरूको उद्धारमा गएका नेपाल प्रहरीका एक जना जवानको पनि डुबेर मृत्यु भयो । सो घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बलको टोली उद्धारका लागि परिचालन भयो । सशस्त्रले सहायक हवल्दार शिरबहादुर थापा र जवान भट्टराईलाई उद्धारका लागि फेवातालभित्र पठायो । पानीभित्र आवश्यक पर्ने सामाग्री बोकेर खोजीका लागि गएका थापा र भट्टराईले २५ फिट गहिराईबाट तीनै जनाको शव निकाल्न सफल भए ।

साहसी उद्धारकको परिचय बनाएका सशस्त्र प्रहरी जवान भट्टराईको उद्धार गाथा यतिमै मात्र सीमित छैन । फेवातालमै पानी भरेर एउटा डुंगा डुब्यो । दुई जना बेपत्ता भए । सशस्त्रले उनीहरूको खोजीका लागि हवल्दार नरेन्द्रसिंह भण्डारी र भट्टराईलाई परिचालन ग¥यो । उनीहरूले ३५ फिट गहिराईबाठ फरक फरक ठाउँबाट ती दुई जनाको शव निकाल्न सफल भए । यस्तै, पोखराको सेती नदीमा नुहाउन जाँदा एक जना युवक र एक जना युवतीको डुबेर मृत्यु भएको थियो । उनीहरूको शव साता दिनपछि खोंचमा अड्केको अवस्थामा भेटिएपछि सशस्त्रको टोली उद्धारका लागि गएको थियो । त्यहाँ पनि उद्धारका लागि यिनै भट्टराई र सहायक हवल्दार शिरबहादुर थापालाई परिचालन गरिएको थियो । उनीहरू घटनास्थल पुग्दा शव कुहिइसकेको थियो । उनीहरूले रोप ट्विन मेथोडबाट कुशलतापूर्वक शवलाई बाँधेर निकाल्न सफल भएका थिए ।

६ जेठ २०७२ मा मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवन चण्डी भन्ज्याङ गाविस–५ स्थित कालीखोलामा पहिरोले बगाउँदा स्थानीय ५० वर्षीय मंगले चेपाङको मृत्यु भएको थियो । पहिरोले बगाएर उनको मृत्यु भएको जानकारी आएपछि विपद् व्यवस्थापन तालिमप्राप्त एपीएफ टोली तुरुन्तै परिचालन भएको थियो । त्यसबेला सो टोलीमा रहेका यिनै सशस्त्र प्रहरी जवान भट्टराई साहसिक ढंगले ¥याप्लिङ, क्लाइम्बिङ गर्दै त्यस ठाउँमा पुगेर भीरको ढुंगामा अड्किएको शवलाई सजगताका साथ बिस्तारै तानेर काँधमा राखी सुरक्षित साथ भीरबाट ल्याउन सफल भएका थिए । चेपाङको शव सडकबाट करिब सय मिटर तल तथा त्रिशूली नदी किनारभन्दा केही माथि भीरमा ढुंगाको चेपमा अड्किएर खुट्टा मात्रै देखिएको अवस्थामा भेटिएको थियो ।

यस्तै, धादिङको बैरेनीस्थित त्रिशूलीमा नुहाउन जाँदा डुबेर मृत्यु भएका एक व्यक्तिलाई उनले ३० फिटमुनिबाट निकाल्न सफल भएका थिए । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीका लागि उनीसहितको सशस्त्र प्रहरीको गोताखोर टोली त्रिशूली नदीमा परिचालन भएको थियो । तर, घिमिरेलाई फेला पार्न भने सकेन । ‘पूर्वगृहमन्त्री घिमिरेको खोजीका लागि हामीले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेका थियौं, धमिलो पानीमा २५ फिटमुनि म आफैं पनि गएको थिएँ । एक दिन होइन, दुई दिन होइन, धेरै दिन हामीले खोजी ग¥यौं, तर सफलता मिलेन,’ भट्टराई भन्छन् ।

यी साहसिक उद्धारकलाई सशस्त्र प्रहरी बलले बंगलादेशमा गोताखोर तालिम गर्ने अवसर दिएको थियो । त्यहीँ तालिम गरेपछि उनमा साहस बढेको हो । तालिमका क्रममा उनीहरू १ सय ८० फिट गहिराईसम्म गएका थिए । सो तालिम गर्दा केहीको कानको जालीमा गम्भीर समस्यासमेत आएको थियो । उनीसँगै त्यहाँ तालिम गरेका सशस्त्रका केही जवान आर्थिक फाइदा देखेर पलायन भइसकेका छन् । तर, उनमा भने सशस्त्रमै बसेर देशको सेवा गर्ने ठूलो इच्छा रहेछ । ‘उद्धारमा जाँदा कहिले नसोचेको अप्ठेरो आइलाग्छ, कहिले ज्यान नै जोखिममा पर्छ, यस्तो बेलामा पाइलापाइलामा ध्यान दिनुपर्छ,’ यी साहसिक उद्धारक भन्छन्, ‘जब उद्धारमा सफलता मिल्छ, छुट्टै आनन्द आउँछ, अझै जटिलभन्दा जटिल काम गर्न सकौं भन्ने लाग्छ ।’

पानीमुनि अति गहिरो ठाउँमा शव देख्दा डर लाग्दैन ? भन्ने राजधानीको जिज्ञासामा भट्टराई भन्छन्, ‘पहिलापहिला त डर लाग्थ्यो, अब त बानी नै परिसक्यो, खासै डर लाग्दैन ।’ सशस्त्र प्रहरी बलमा हालसम्म १ हजार १ सय २० जना विपद् व्यवस्थापन तालिमप्राप्त जनशक्ति रहेका छन् भने फायर फाइटिङ ५७ जना, आकस्मिक सेवा ५७ जना र केमिकल न्युक्लियर बायोलोजिकल रेडियोलोजिकल तालिम गरेका ४२ जना जनशक्ति रहेका छन् । त्यस्तै २२ जनाले गोताखोर तालिम गरिसकेका छन् । यस्ता तालिमप्राप्त जनशक्ति उद्धार कार्यमा अब्बल साबित भएका छन् ।