सहज बनाऔं दसैं यात्रा

सहज बनाऔं दसैं यात्रा

 

 

महान् चाड दसैं नजिकिँदै गर्दा धेरै मानिस आआफ्नो घर पुग्ने चाँजोपाँजो मिलाउँदै छन् । घरपरिवारदेखि टाढिएर बसेकालाई दसैंमा कसरी र कहिले पुग्ने भन्ने चटारोले छोइसकेको छ । नेपाली समाजमा दसैं पर्व मात्र नभएर पारिवारिक भेटघाट र मिलनको एउटा अवसर पनि बन्दै आएको छ । यही पर्वले अरू बेला विभिन्न कारणले अलगअलग रहेकालाई एकै समयमा एकै थलोमा जमघट गराउँछ । दसैंको अवसरमा काठमाडौंबाट पनि लाखौं मानिस आआफ्ना गन्तव्य लाग्छन् । समय छँदै गन्तव्यमा पुग्न टिकटको व्यवस्था हुनुपर्ने उनीहरूको चाहना हुन्छ । यात्रुहरूलाई सहज होस् भनेर समयमै टिकटको व्यवस्था गर्ने गरिएको सरकार र यातायात व्यवसायी बताउँछन् तर दसैंको बेला टिकट नपाउँदा सबै योजना भताभुंग हुने गरेको गुनासो भने हरेक वर्ष आइरहेको छ ।

दसैंलाई लक्षित गरी यसपालि २२ भदौदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने यातायात व्यवसायीहरूले निर्णय गरिसकेका छन् । सकेसम्म समयमै यात्रुहरूले टिकट पाऊन् र सहज यात्रा गर्ने अवसर मिलोस् भन्ने उद्देश्यले व्यवसायीहरूले अग्रिम टिकट बुकिङको व्यवस्था गरेको बताएका छन् । तर हरेक वर्ष यसरी नै अग्रिम टिकट बुकिङ गरे पनि समयमा टिकट नपाएको पीडा पोख्ने यात्रुहरूको संख्या कम हुँदैन । समयमै अग्रिम बुकिङ खुला गर्नु पक्कै पनि सकारात्मक पक्ष हो तर टिकट बिक्री के कसरी भइरहेको छ, तोकिएको भाडाअनुसार यात्रुले टिकट पाइरहेका छन् वा छैनन् भन्ने विषयमा पनि पर्याप्त अनुगमन हुनुपर्छ । टिकट बुकिङ खुला गरे पनि समयमै काउन्टरमा पुग्दा यात्रुले टिकट नपाएको र दसैं घर्किंदा पनि टिकट नपाएर बसपार्कमा बिलखबन्दमा परेका घटना धेरै छन् । यसैगरी तोकिएको भाडादर भन्दा बढी भाडा तिर्न बाध्य बनाउने गरेको पनि पाइन्छ । यसरी विभिन्न खालका विकृतिलाई रोक्न पनि आवश्यक व्यवस्था हुनुपर्छ । दसैंअघि नै अग्रिम टिकट बुकिङ खुला गरेर मात्रै सरकार र यातायात व्यवसायीको दायित्व पूरा हुँदैन ।

यातायात व्यवस्था विभागका अनुसार देशभर सार्वजनिक सवारीसाधनको संख्या २३ लाखभन्दा बढी छ । यसबाट पनि बुझ्न सकिन्छ, सार्वजनिक सवारीसाधनबाट यात्रा गर्नेहरूको संख्या पनि लाखौं छ । सवारीसाधनको संख्या धेरै भएर सुविधा हुने, कम भएर असुविधा हुने पनि होइन । मुख्य कुरा व्यस्थापन नै हो । समय छँदै चुस्त व्यवस्थापनमा ध्यान पु¥याउन सकियो भने थोरै सवारीसाधनबाट पनि यात्रुलाई सुविधा दिन सकिन्छ । तोकिएको समयमा यात्रुलाई गन्तव्यमा पु¥याउने, सवारीसाधनको अवस्था जाँच गर्ने, क्षमताभन्दा बढी यात्रु राख्न नदिन कडाइ गर्ने र यात्रुको सुविधाका लागि आवश्यक व्यवस्था गर्ने सवालमा पर्याप्त ध्यान पु¥याउनुपर्छ । दसैंको बेला चाप धेरै हुने बहानामा क्षमताभन्दा बढी यात्रु राख्नाले पनि दुर्घटना हुन्छन् । यात्राको क्रममा यात्रुहरू विभिन्न खालका दुव्र्यवहारको सिकार हुने गरेका छन् । यातायात व्यवसायीहरूले हरबखत सर्वसाधारणलाई सेवा प्रदान गरिरहेकामा कुनै शंका छैन । तर दसैंजस्तो विशेष चाडका बेला उनीहरूले कमाउनेभन्दा सेवाको भावनाले पनि यातायात व्यवस्थापन गरेर विश्वास जित्नु सक्नुपर्छ । यात्रुहरूको विश्वास जित्नु भनेको व्यवसायमा टेवा पुग्नु नै हो । यातायातमा हुने यस्ता विभिन्न खालका समस्याबारे अनुगमनका लागि मोबाइल अनुगमन टोलीको विशेष व्यवस्था गरिनुपर्छ । यसका लागि सबै जिम्मा निजी क्षेत्रको टाउकोमा थुपार्ने काम सरकारले गर्नुहुन्न । आखिर सुरक्षित र विश्वासिलो यात्राको सम्पूर्ण व्यवस्थापन गर्ने अन्तिम जिम्मेवारी राज्यकै हो ।