मन्त्रीलाई विद्यालयमा नराख

मन्त्रीलाई विद्यालयमा नराख

 

युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरी विद्यालय हाताभित्र सुरक्षा पोस्टसहित बसेपछि सरकारले घोषणा गरेको विद्यालय शान्ति क्षेत्रको धज्जी उडेको छ । सरकारी निवास अपुग भएको भन्दै राज्यमन्त्री चौधरी विद्यालय हाताभित्रै सेनाको सुरक्षा पोस्टसहित बसेका छन् । कुपण्डोलस्थित नाइटिंगेल स्कुलका मालिकसमेत रहेका राज्यमन्त्री चौधरीले विद्यालय हाताभित्रै सुरक्षा खडा गरेर आमविद्यालयको मानमर्दन गरेका छन् भन्दा अत्युक्ति नहोला । राज्यमन्त्री चौधरीलाई थाहा हुनुपर्ने हो कि विद्यालय हाताभित्र हतियारसहित सुरक्षाकर्मी बस्न पाउँदैनन् भने बन्द हडताल वा ¥यालीमा विद्यार्थीलाई प्रयोग गर्न पनि पाइँदैन । आज विद्यालय सञ्चालकको नाताले हतियारधारी सुरक्षाकर्मी विद्यालयपरिसरमा बसेजस्तै भोलि सोही विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकले हतियारसहित सुरक्षाकर्मी राखेको भन्दै राज्यमन्त्रीको राजीनामा मागे भने के गर्ने ? राज्यमन्त्री चौधरी गम्भीर हुनुपर्छ ।

सरकारी निवास अपुग भएको एवं तत्काल डेरा नपाएको तर्क गर्दै राज्यमन्त्री चौधरी विद्यालय हाताभित्रै हतियारधारी सुरक्षाकर्मीसहित बसेका छन् । मन्त्री बनाएपछि सरकारी निवास उपलब्ध गराउनु सरकारको कर्तव्य हो भने उपयुक्त डेराको व्यवस्था मिलाउनु राज्यमन्त्री चौधरीको पनि दायित्व हो । मुलुकको राज्यमन्त्रीले आफ्नै लागि एउटा डेराको जोहो गर्न सक्दैनन् भने तिनले सर्वसाधारण जनताको काम गर्छन् भनेर कसरी विश्वास गर्ने ? अर्को कुरा उनले डेरा नपाएको जुन तर्क गरेका छन्, त्यसमा पटक्कै सहमत हुन सकिँदैन ।

त्यसो हो भने कुनै मान्छेलाई असाध्यै भोक लागेको छ । ऊसँग एक रुपैयाँ पनि पैसा छैन । के उसो भए भोकाएको मान्छेले चोरेर खान पाउँछ ? राज्यमन्त्री  चौधरीले जवाफ दिनुपर्छ । कुनै पनि व्यक्ति मन्त्री भएपछि डेरा खोजिदिने जिम्मा विद्यार्थी वा अभिभावकले लिँदैनन् । राज्यमन्त्री चौधरी जुन विद्यालयमा हतियारधारी सुरक्षाकर्मीसहित बसेका छन् सो विद्यालयमा ३ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेको सरकारले पनि भन्न सक्नुपर्छ । हतियारधारी सुरक्षाकर्मीसहित कुनै मन्त्री एवं राज्यमन्त्रीले विद्यालय हाताभित्र बस्न पाइन्छ कि पाइँदैन ।

यदि पाइन्छ भने अन्य मन्त्रीहरू पनि कोही विद्यालय सञ्चालक, होस्टेल सञ्चालक वा अरू कुनै व्यापार व्यवसायमा आबद्ध होलान्, तिनले पनि आफ्नै उद्योगपरिसरमा बस्न किन नपाउने ? विद्यालय हाताभित्र सुरक्षा पोस्ट सुहाउँदो हो कि होइन ? अन्य विद्यालय सञ्चालकको पनि ध्यान जान जरुरी छ । विद्यालय सञ्चालकहरूले यदि राज्यमन्त्री चौधरीले  अपनाएको शैली ठीक छ भन्न सक्छन् भने विद्यार्थी एवं अभिभावकले आपत्ति जनाउनु पर्दैन, होइन भने राज्यमन्त्री चौधरीले पदबाट राजीनामा दिएर डेराको जोहो गर्नुपर्छ र डेरा पाएपछि पुनः मन्त्री बन्दा राम्रो हुन्छ । आशा गरौं मन्त्री चौधरीले चाँडै डेराको जोहो गर्नेछन् र विद्यालयलाई हतियारधारी सुरक्षाकर्मीबाट मुक्त गर्नेछन् ।