महजोडीबाट सिक्नुपर्ने पाठ

महजोडीबाट सिक्नुपर्ने पाठ

 

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठद्वारा लिखित पुस्तक ‘महको म’ सार्वजनिक भएलगत्तै नेपाली कलाकारको बौद्धिकता विषयमा बहस सुरु भएको छ । यद्यपि पुस्तक लेख्ने श्रेष्ठ पहिलो कलाकार भने होइनन् । यसअघि महकै जोडीमध्ये हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ सार्वजनिक भइसकेको छ । अन्य केही कलाकारको पनि जीवनी समेटिएका विभिन्न लेख विभिन्न जर्नल एवं म्यागजिनमा प्रकाशित हुने गरेका छन् । महको आत्मकथा शैलीको पुस्तकले केवल नेपाली किताबहरूको भीडमा संख्या मात्रै बढाएको छैन, नेपाली कलाकारभित्रको बौद्धिकता एवं विभिन्न आरोह अवरोहलाई पुस्तकमार्फत पाठकसम्म पु¥याउने काम गरेको छ ।

५० वर्ष पार गरेपछि नेपाली चलचित्र व्यावसायिक उन्मुख भए पनि आमकलाकारलाई अझै नेपाली समाजले बौद्धिक सम्पत्तिका रूपमा स्विकारेको छैन । कतिपय चलचित्रमा राखिने भद्दा दृश्य, चलचित्रकर्मीहरूले सार्वजनिक मञ्चहरूमा दिने अशोभनीय अभिव्यक्तिले पनि आमकलाकर्मीको मानमर्दन हुन भूमिका खेलेको छ । परम्परागत शैलीमा निर्माण हुने फिल्मका कारण पनि नेपाली कलाकर्मी सर्जकको रूपमा स्थापित हुन सकेनन् भन्ने गुनासो बढिरहेको छ । पछिल्लो समय सञ्चालनमा आएका प्रकाशन गृहले राजनीतिकर्मी, समाजसेवी, शिक्षासेवीलगायत विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिको बारेमा जीवनीमूलक पुस्तक प्रकाशन सुरु गरेका छन् । तर चलचित्रकर्मीको पुस्तक सा¥है थोरै छ । निर्देशक लक्ष्मीनाथ शर्माले चलचित्रको सैद्धान्तिक पक्ष समेटेर पुस्तक प्रकाशन गरे पनि अन्य व्यक्तिले चलचित्रसम्बन्धी पुस्तक लेख्न जाँगर चलाएका छैनन् । चलचित्रकर्मीका पुस्तक बिक्री नहुने पो हुन् कि ? वा चलचित्रकर्मीका सन्दर्भमा पुस्तक लेख्दा आफ्नै कद होचो हुने पो हो कि भन्ने सन्त्रास अझै छ । पुस्तकमा केन्द्रित गर्नका लागि चलचित्रकर्मीले आफूलाई सर्जकको रूपमा प्रस्तुत गर्न सक्नुपर्छ । त्यसका लागि कुनै प्रकाशन गृह वा लेखकले कलाकारलाई ठूलो मान्छे बनाएर हुन्न । कलाकर्मी आफंै अब्बल हुन सक्नुपर्छ ।

मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जीवनी सार्वजनिक भएपछि कलाकर्मीहरूलाई एकखालको आत्मबल बढेको हुन सक्छ, मैले पनि प्रयास गरें भने पुस्तकको आकार लिन सक्छ भन्नेमा । अर्को कुरा महजोडी पुस्तकको रूपमा आउनुको कारण उनीहरूको अभिनय मात्रै होइन । महजोडीको अभिनय त अन्य कलाकारको तुलनामा फरक छ नै, समाजमा उनीहरूले दिएको योगदानलाई पनि भुल्नुहुन्न । कतिपय कलाकारहरूले भन्ने गरेका छन्, ‘हामी यो देशका गहना हौं तर हाम्रा लागि सरकारले केही गरेन ।’ तर महजोडीले कहिल्यै यस किसिमको अभिव्यक्ति दिएनन् । बरु मुलुकको विकासका लागि केके गर्न सकिन्छ भनेर कहिले अभिनयमार्फत त कहिले विभिन्न मञ्चहरूमा विचार दिएर सुझाए । आशा गरौं पुस्तक पढ्ने कामलाई झर्को मान्ने कतिपय चलचित्रकर्मीहरूले मदनकृष्णको ‘महको म’ र हरिवंशको ‘चिना हराएको मान्छे’ पढेर भए पनि पुस्तक लेख्ने र पढ्ने संस्कारको विकास गर्नेछन् ।