स्वस्थ प्रतिस्पर्धाको अपेक्षा

स्वस्थ प्रतिस्पर्धाको अपेक्षा

स्थानीय तहको निर्वाचनअन्तर्गत तेस्रो चरणमा प्रदेश २ को निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएसँगै अबको केही घण्टा विभिन्न राजनीतिक दलहरूले आफ्ना उम्मेदवारका लागि मत माग्नेछन्, जुन स्वाभाविक पनि हो । हरेक चुनावमा मतदातासँग मत माग्नु, आफूले गर्ने कार्ययोजनाबारे जानकारी गराउने जस्ता घटनालाई सामान्य र स्वाभाविक रूपमा लिइन्छ । लोकतन्त्रमा हरेक दलका नेताले आफ्ना मतदाताबीच गएर स्पष्टसँग आफ्ना एजेन्डाबारे छलफल गर्नुपर्छ । कुनै पनि उम्मेदवारको विचार र कार्यशैलीबाट प्रभावित भएर स्थानीय जनताले उसलाई मत दिने हैसियत राख्छन् । सबैभन्दा धेरै मत पाउने जनप्रतिनिधि घोषित हुन्छन् । संसारभर निर्वाचनको नियम नै यही हो ।

पछिल्लो समय कतिपय दलका नेताहरूले आफ्ना एजेन्डा सार्वजनिक गर्ने बहानामा मतदातासमक्ष आर्थिक प्रभाव छाड्ने र प्रतिस्पर्धी उम्मेदवारलाई हातपातसमेत गर्ने स्थिति पनि देखिएको छ । यस्ता घटनाले निर्वाचनको निष्पक्षतामाथि त प्रश्न उठाउँछ नै, दलहरूको चरित्रको विषयमा प्रश्न गर्नेहरूलाई बल पुग्छ । मत प्रभावित पार्नकै लागि मतदातालाई पैसा बाँड्ने, अनावश्यक भोज भतेर गर्ने र कतिपयलाई धम्कीसमेत दिने गरेका घटना जगजाहेरै छ । सीधा साधा जनतालाई धाकधम्की दिएर मत प्रभावित गर्ने घटनामा एउटा मात्र दलको संलग्नता छैन । नेपाली कांग्रेस, एमाले, माओवादी, मधेसवादी वा अन्य दल विभिन्न निर्वाचनमा कहीं न कहीं चुकेकै छन् । उम्मेदवारसँग पैसा लिएर टिकट दिनेदेखि चुनावमा यति पैसा खर्च गर्नुपर्ने सर्तसहित टिकट दिएका घटना सार्वजनिक भइसकेकाले कुनै पनि दलले म यस्ता घटनाबाट अछूतो छु भन्ने अवस्था छैन । हिजो कुन दलका कुन नेताले कस्तो गल्ती गरे । समीक्षा त भविष्यमा होला आगामी दिनमा फेरि गल्ती नगर्ने प्रण सबै दलका नेताहरूले गरे भने मर्यादित निर्वाचन नेपाली जनताका लागि टाढाको विषय हुनेछैन ।

निर्वाचन आफैंमा कुनै ठूलो गेम होइन । निर्वाचन जित्ने बित्तिकै सर्वेसर्वा प्राप्त हुने र हार्दैमा सर्वस्व जाने पनि होइन । हरेक निर्वाचनका जनप्रतिनिधि निश्चित अवधिका लागि चुनिने भएकाले कुनै पनि दलका नेताले जित्नकै लागि मरिहत्ते गर्न जरुरी छैन । किनकि निर्वाचन जितेर पनि काम गर्न नसकेपछि जनताबाट बहिष्कृत भएका जनप्रतिनिधि धेरै छन् नेपाली समाजमा । तसर्थ दाम, दण्ड, भेद अपनाएर चुनाव जित्नैपर्छ भन्ने मान्यताबाट जनप्रतिनिधि मुक्त हुनैपर्छ । आशा गरौं, विगतमा दुई चरणमा भएको स्थानीय निर्वाचनमा भएको गल्ती तेस्रो चरणको निर्वाचनमा दलहरूले दोहो¥याउनेछैनन् र स्वस्थ प्रतिस्पर्धा गर्दै मैदानमा भिड्नेछन् । त्यसो भएमा जित्नेले पनि अनावश्यक दम्भ देखाउने अवस्था आउँदैन भने हार्नेले पनि सर्वस्व गुम्यो भनेर महसुस गर्नुपर्नेछैन ।