विधि र आचारसंहिताको खिल्ली

विधि र आचारसंहिताको खिल्ली

दलीय राजनीतिको कोपभाजनमा परेर प्रदेश २ का स्थानीय तह बल्ल निर्वाचनमय भएका छन् । राजनीतिक दलहरूले कहिले तराई मधेस अधिकारका नाममा कहिले पहिचान र कहिले समावेशीका नाममा प्रदेश २ लाई अभीष्ट पूरा गर्ने माध्यम बनाए । अन्ततः आन्दोलनको रापअनुसारको उपलब्धिबिनै प्रदेश २ निर्वाचनमा होमिएको छ । अपेक्षाकृत शान्तिपूर्ण ढंगले चुनावी प्रचार जारी रहेको यस प्रदेशमा ठूला राजनीतिक दलका तर्फबाट उम्मेदवारी दर्तादेखि प्र्रचारसम्ममा जुन अशोभनीय हर्कत देखाइएको छ, यसले प्रदेश २ का जनताको मन रोएकै हुनुपर्छ । आचारसंहिताविपरीत झन्डावाल गाडीमा राज्यमन्त्री भोट माग्न हिँड्नेदेखि आपराधिक पृष्ठभूमिका या अदालतबाट दोषी ठहर भएकालाई जबर्जस्त निर्वाचन मैदानमा उतार्नेमा पनि ‘ठूला’ दल नै अघि देखिए । यो अपेक्षा न त प्रदेश २ का जनताले गरेका छन् न त आमनेपालीले नै ।

आचारसंहिता कडाइका लागि निर्वाचन आयोगले पटकपटक झक्झकाउँदै आएको छ । तर पनि निर्वाचन आचारसंहिता सरकार समर्थक तथा मन्त्रीहरूले नै उल्लंघन गरिरहेका छन् । बारामा राज्यमन्त्री चुनावी प्रचारका क्रममा झन्डावाल गाडीसहति पक्राउ पर्नु र मौन अवधि सुरु भएपछि यो वा त्यो नाममा भोट माग्नु दुवै आचारसंहिता उल्लंघनका नमुना हुन् । मन्त्रीको हैसियतमा फिल्डमै उत्रिनु लल्जास्पद विषय हो । प्रदेश २ मा विगतका आन्दोलनका कारण जनता सचेत छन् । विगतमा जस्तो आर्थिक प्रलोभनका भरमा भोट लिने अवस्था छैन, केही अपवादबाहेक । ठगी अभियोगमा अदालतबाट दोषी ठहर भएका हुन् या चोरी अभियोगमा जरिवाना तिरेका, कोही पनि उम्मेदवारका लागि योग्य हुँदैनन् । भोलि निर्वाचन आयोगले ती उम्मेदवारको मनोनयन रद्द गर्ला तर प्रश्न रद्द हुने या नहुने भन्दा पनि पद्धतिको हो । स्थानीय तह हाँक्न दलहरूले कस्ता व्यक्ति रोज्दै छन् भन्ने अहं प्रश्न हो । दलहरू कुनै न कुनै प्रलोभन या दबाबमा नपरी यस्ता व्यक्ति जनप्रतिनिधिका रूपमा अघि सारिन्नन् । अब दलहरूले प्रस्टीकरण दिनुपर्नेछ ।

हो, हामीले यीभन्दा राम्रो उम्मेदवार भेटेनौं । होइन भने उम्मेदवार नभए तालमेल, त्यो नभए अर्कालाई समर्थन जस्ता विकल्प हुँदाहुँदै लोक हसाउने गरी उम्मेदवारी दर्ताको टिकट बाँड्नु उपयुक्त होइन । २ असोजमा प्रदेश २ का स्थानीय तहको निर्वाचन सकिएलगत्तै मुलुक प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा होमिँदै छ । दलहरूले स्थानीय तह निर्वाचनमा खेलेको भूमिका र प्राथमिकताले बाँकी दुई निर्वाचन प्रभावित हुनेछन् । निर्वाचनको पहिलो सर्त शान्ति र भयरहित हो भने आचारसंहिता पालना उत्तिकै महŒवपूर्ण हुन्छ । लोकतन्त्रमा विधि, कानुनी शासन र मानवाधिकारको पक्षमा वकालत हुनुपर्छ न कि आपराधिक पृष्ठभूमिको । प्रदेश २ मा जारी निर्वाचन प्रचारलाई प्रभाव पार्ने कार्य कतैबाट हुनुहुँदैन । सुरक्षाका हिसाबले संवेदनशील आंकलन भएको यस प्रदेशमा दलहरूले प्रचारका नाममा जनता भड्काउने कार्य बन्द गर्नुपर्छ । विगतमा किचलो प्रदेशका रूपमा दलहरूले नै चित्रित गरेको यसमा नमुना मतदानमार्फत जनप्रतिनिधि छान्ने वातावरण बनाउन दलहरूकै महŒवपूर्ण भुमिका हुन्छ त्यसैले दलहरूले यो  अवसर चुकाउनुहुन्न ।