बस व्यवसायीको एकाधिकार रोकियोस्

बस व्यवसायीको  एकाधिकार रोकियोस्

अन्ततः सरकारलाई गलाएरै राष्ट्रिय यातायात व्यवसायी महासंघले दसैंका लागि अग्रिम टिकट बुकिङ सुरु गर्ने भएको छ । हरेक वर्ष दसैंछेका महासंघले टिकट बुकिङको विषयमा सरकारलाई खोचे थाप्ने गरेको छ । यसपालि पनि त्यसै ग¥यो । छतमा सामान राख्न पाउनुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउनुपर्ने जस्ता अव्यावहारिक माग राख्दै व्यवसायीले घोषित मितिमा बुकिङ खुला गर्न मानेनन् । सरकार बस व्यवसायीको सबै सर्त मान्न तयार भएपछि व्यवसायी मंगलबारदेखि अग्रिम बुकिङ सुरु गर्न तयार भएका छन् । दसैं तिहारजस्ता ठूला पर्वमा राजधानी काठमाडौंबाट ठूलो संख्यामा यात्रु बाहिरिने हुँदा बस व्यवसायीका अतिरिक्त सिजन मानिन्छन् यी चाडपर्व ।

टिकटै नपाइएला कि भनेर तनावमा रहेका यात्रुमध्ये केहीले टिकट पाउने सम्भावना बढेको छ । तर, यात्रा जोखिमयुक्त नहोला भन्न सकिन्न । किनकि सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउनुपर्ने मागमा सरकारले सहमति जनाइसकेको छ भने छतमा यात्रुको सामान शीर्षकमा व्यावसायिक प्रायोजनका सामानसमेत लैजाने अनुमति पाइसकेका छन् । नेपालका कतिपय सडकको दुरवस्था त छ नै, यसमाथि क्षमताभन्दा धेरै यात्रु भएपछि जोखिमको सम्भावना उत्तिकै हुन्छ । यात्रुलाई सहज रूपमा गन्तव्यमा पु¥याउने दायित्व राज्य र बस व्यवसायी दुवैको हो तर राज्य नागरिकका समस्याप्रति बेखबर भइदिँदा बस व्यवसायीको ‘दादागिरी’ नमज्जाले बढेको छ । गत वर्ष पनि दसैंछेका व्यवसायीले यही प्रकृतिका माग राखेका थिए तर सरकारले नागरिक हितविपरीत अडान मान्दैनौं भनेकै कारण अन्तमा बस व्यवसायी सरकारसँग झुक्न बाध्य भएका थिए । यसपालि ठीक उल्टो भएको छ । व्यवसायीले नाजायज माग राखे, सरकारले ‘जे मन लाग्छ गर्नोस्’ भन्दै हस्ताक्षर ग¥यो । सरकारको यो लाचार व्यवहारको मारमा कति यात्रु पर्ने हुन् अहिल्यै भन्न सकिन्न ।

सार्वजनिक यातायातमा सरकारको उपस्थिति शून्य भएकैले बस व्यवसायीको दादागिरी बढ्दो छ । अन्य अवस्थामा विद्यार्थीलाई सहुलियत दिने गरे पनि चाडपर्वको मौसम भन्दै बस व्यवसायीले छुट दिन्नन् । व्यवसायीको त नियत खराब छ नै, सरकारको लाचारी प्रवृत्तिले गर्दा झन् एकाधिकार कायम गर्न उनीहरूको मनोबल बढेको हो । केही महिनायता ठूला सवारीसाधनको लाइसेन्स प्रक्रिया रोकिएकाले कतिपय बस व्यवसायीसँग दक्ष चालकको अभाव छ । राम्रो सवारी चालकको अभाव हुनुको मार भने सर्वसाधारण खेप्न विवश छन् । औपचारिक रूपमा अग्रिम बुकिङ खुला भए पनि अग्रिम बुकिङमा झेली गर्ने प्रवृत्ति छँदै छ । आफ्ना सीमित मान्छेलाई भित्रभित्रै टिकट दिने र सर्वसाधारणका लागि सकियो भन्दै ढोका बन्द गर्ने प्रवृत्ति यसपालि पनि नदोहोरिएला भन्न सकिन्न । यात्रालाई सुरक्षित बनाउने दायित्व यात्रुको पनि हो भन्ने पनि हेक्का राख्न जरुरी छ । कुनै पनि सवारीसाधनमा कोचिएर यात्रु नचढ्ने हो भने पनि धेरै हदसम्म यात्रा सुरक्षित हुने अपेक्षा गर्न सकिन्छ ।