सामान बरामद भए पनि आरोपित सधैं फरार

दीपक ओली / धनगढी

गत शनिबार साँझ सशस्त्र प्रहरी सीमा सुरक्षा बलको एक टोलीले ३३ वटा बाख्रासहित एउटा मिनि ट्रक नियन्त्रणमा लियो । भारतबाट बाख्रा बोकेर आएको सो मिनि ट्रक प्रहरीले धनगढीको बंगरा कटानबाट नियन्त्रणमा लिएको थियो । भारतबाट अवैध रूपमा भिœयाइएको बाख्रासहित मिनि ट्रक सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लिए पनि ट्रक चालक तथा बाख्रा ल्याउने व्यापारी भने फरार छन् ।

सशस्त्र प्रहरी टोलीले दिउँसो ३ बजेतिर नियन्त्रणमा लिएको सो मिनि ट्रक र बाख्रालाई बेवारिसे अवस्थामा फेला परेको भन्दै कैलाली भन्सार कार्यालयमा बुझाएको छ । भन्सार कार्यालय स्रोतका अनुसार यसपटक पनि कम बिगो बनाएर मिनि ट्रक र बाख्रा भन्सार कार्यालयमा बुझाइएको छ । भन्सारमा बुझाइएको विवरणमा बाख्राको १ लाख ४८ हजार ५ सय तथा मिनि ट्रक र चार्जरको ४१ हजार ९ सय रुपैयाँ गरी १ लाख ९० हजार ४ सय रुपैयाँ बिगो कायम गरिएको छ ।

केही दिनअघि धनगढीको बंगरामा भारतबाट अवैध रूपमा भिœयाइँदै गरेको अवस्थामा १८ किलो कुखुरा र १० किलो माछा वडा प्रहरी कार्यालयको एक टोलीले नियन्त्रणमा लिएको थियो । कुखुरा तथा माछामासु व्यवसायी संघको सहयोगमा वडा प्रहरी कार्यालयले त्यो सामग्री नियन्त्रणमा लिएको थियो । प्रहरी टोलीले कुखुरा ल्याउने व्यक्ति पनि नियन्त्रणमा लिएकोमा आगामी दिनमा गल्ती नदोहो¥याउने कागज बनाएर रिहा गरिएको थियो ।

कैलालीमा भारतसँगको खुला सिमानाका कारण अवैध रूपमा कुखुरा, खसीबाख्रा, चिनी, कस्मेटिकलगायतका सामग्री भित्रिने गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले पनि दिनहुँ अवैध रूपमा भित्रिएका सामान बरामद गर्ने गरेका छन् । तर प्रायः घटनामा सामान भिœयाउने व्यापारी वा व्यक्तिले भने उन्मुक्ति पाउँदै आएका छन् ।

कुखुरा तथा माछामासु व्यवसायी संघका जिल्ला अध्यक्ष जितेन्द्र यादवका अनुसार गत आर्थिक वर्षमा भारतबाट अवैध रूपमा ५ लाख रुपैयाँ मूल्य बढीका कुखुरा अवैध रूपमा भित्रिएको थियो । तर कुनै पनि घटनामा कुखुरा भिœयाउने व्यक्ति भने पक्राउ परेनन् । अध्यक्ष यादवले भने, ‘अवैध रूपमा कुखुरा, अन्डा र माछा भित्रिने क्रममा कमी आउन सकेको छैन ।’

अवैध रूपमा भित्रिने सामान बरामद गरे पनि ल्याउने व्यक्ति तथा व्यापारी फरार हुने, पक्राउ गरे पनि बिनादण्डसजाय रिहा गर्ने तथा बरामद भएको सामानको वास्तविकता मूल्यभन्दा कम बिगो कायम गर्ने प्रवृत्तिले भारतबाट अवैध रूपमा सामान भिœयाउने क्रममा कमी आउन सकेको छैन ।

प्रहरीका एक उच्च अधिकारीका अनुसार कतै व्यावहारिक रूपमा व्यक्तिलाई छोड्नुपर्ने हुन्छ भने कतै राजनीतिक दबाबका कारण छोड्नुपर्ने बाध्यता छ ।

अवैध रूपमा सामान ल्याउने व्यक्ति या त एकदमै विपन्न वर्गका हुन्छन् या राजनीतिक पहुँच भएका व्यक्ति हुन्छन् । नाम उल्लेख नगर्ने सर्तमा ती प्रहरी अधिकारीले भने, ‘न्यून आयस्रोत भएका व्यक्तिलाई व्यावहारिक रूपमा आगामी दिनमा गल्ती नदोहो¥याउने सर्तमा छोड्ने गरेका छौं । त्यसैगरी कतिपयलाई राजनीतिक दबाबका कारण छोड्नुपर्ने बाध्यता छ ।’