राष्ट्रियता जोगाउँदै समृद्ध राष्ट्र निर्माणमा जुटौं : ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र र मुलुकमाथि संगठित रूपमा आक्रमण भइरहेको बताउँदै त्यसको सामनाका लागि सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले गणतन्त्र, राष्ट्रियता जोगाउँदै आर्थिक समृद्धिका लागि सबै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका हुन् ।

‘विभिन्न प्रक्रियाबाट आए पनि राष्ट्रियहित, एकता, राष्ट्रिय गरिमा, पारदर्शी स्वच्छ पद्धति र समृद्ध नेपाल कसरी बनाउन सकिन्छ, त्यसमा सबै संगठित हौऔं,’ ओलीले भने, ‘देशमाथि संगठित रूपमा आक्रमण भइरहेको छ, जुनसुकै दलका वा जुनसुकै दलबाट भए पनि त्यो कामको संगठित रूपमै प्रतिवाद गरौं, सामना गरौं ।’

नेकपा एमाले सबैलाई समान अवसर दिने पार्टी भएकाले यसमा नातावाद र कृपावाद नहुने भन्दै सबै नेता कार्यकर्तालाई दिल खोलेर पार्टीमा लाग्न उनले आग्रह गरे । मुलुकको राष्ट्रियता जोगाउँदै समृद्ध नेपाल निर्माण गर्न सबै एकजुट हुनुको विकल्प नभएको उनको भनाइ छ ।

प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष ओलीले मन्त्रिमण्डल विस्तारप्रति असन्तुष्टि जनाए । ‘आलु गाँजरको भाउ बढेको बढ्यै छ, आजकाल मन्त्रीको भाउ घटेको घट्यै छ,’ ओलीले भने, ‘जेमा भाउ घट्नुपर्ने नघट्ने, जेमा वृद्धि हुनुपर्ने हो त्यसमा चाहिँ घट्नु दुभाग्यपूर्ण हो ।’

कार्यक्रममा पूर्वराष्ट्र सेवक पार्टीका १३ जना संस्थापक सदस्य, ८ जना संरक्षक, वरिष्ठ नेता, वरिष्ठ सल्लाहकार र प्रवक्ता हित सो पार्टीका ७५ वटै जिल्लामा रहेका सिंगो कमिटी नै एमालेलेमा प्रवेश गरेको छ ।