जनतालाई ढाँटेकाले ‘मधेसी’ शब्द थुते

जनतालाई ढाँटेकाले ‘मधेसी’ शब्द थुते

बसुरुद्दिन अन्सारी, प्रमुख पदका उम्मेदवार, वीरगन्ज महानगरपालिका, नेकपा एमाले

वीरगन्ज महानगरपालिकाको प्रमुख पदमा तपार्इंको उम्मेदवारी किन ?

सडकनाला र खानेपानीदेखि शिक्षा, स्वास्थ्य तथा रोजगारी जता हेरे पनि नगरको अवस्था कहालीलाग्दो छ । तर स्थानीय स्तरमा आएको रकम केमा र कसरी खर्च गर्ने भन्ने समेत योजना नहुँदा पहिले नेतृत्वमा हुनेहरूका कारण आर्थिक नगर वीरगन्ज भन्न समेत लाजमर्दो भयो । त्यसैले यस नगरलाई समृद्ध र सुन्दर नगर बनाउन विकासको योजनासहित आफू उम्मेदवार बनेको छु ।

आगामी निर्वाचनमा तपार्इंका जित्ने आधार केके हुन् ?

जनताको माया र सहयोगबिना केही हुन सक्दैन । सामाजिक काम गर्दा उहाँहरूले गरेको सहयोग र शिक्षाको क्षेत्रमा आफूले लामो समयदेखि काम गर्दा पाएको माया र सुझावले मलाई यो नगर पनि बनाउन सक्छु भन्ने आँट बढेको हो । सामाजिक कामका लागि आफू मुस्लिम समुदायको भएर पनि हिन्दूहरूका लागि समेत शिवालय मन्दिर निर्माणलगायत जुनसुकै सामाजिक काम गर्दा पनि तपाईं राजनीतिमा आउनुभए यस क्षेत्रको भविष्य र वीरगन्जको गरिमा बढ्ने भन्ने सुझाव सबैबाट आएकाले नगरको प्रमुख पदमा जित्ने मेरो मूल आधार हो ।

स्थानीय तहको निर्वाचनमा मतदाताले तपार्इंलाई नै मत किन दिने ?

मैले समाजका बीचमा रहेर शिक्षा र स्वास्थ्यका क्षेत्रमा जुन काम गरी म नगरको समृद्धिका लागि पनि काम गर्न सक्छु भन्ने छाप छोडेको छु । त्यसले पनि भिजन र काम गर्न सक्ने मानिस छानेर मलाई नै मत दिनुहुन्छ भन्नेमा म विश्वस्त छु ।

एमालेलाई मधेसविरोधी भन्छन् । फेरि मधेस आन्दोलनको केन्द्र रहेको वीरगन्जमा यहाँका नागरिकले तपार्इंलाई विश्वास गर्छन् भन्ने लाग्छ ?

जनता भनेका राजनीतिकर्मीका लागि भगवान् हुन् । मधेसवादी दलहरूले मधेस आन्दोलनका समयमा जनतालाई ढाँटेर आन्दोलन गरे । अहिले उनीहरूलाई मधेसी भन्न लज्जित भएर पार्टीका नाम पनि धमाधम मधेसी शब्द थुतेर राख्न थालेका छन् । यो जनताले चाल पाइसके । मधेसवादी पार्टी हुँ भन्ने हरेक पार्टीको नाम हेरे आफैं प्रमाणित हुन्छ ।

पलायन हुने ‘मनी र माइन्ड’ रोक्नुपर्छ

विजयकुमार सरावगी, प्रमुख पदका उम्मेदवार, वीरगन्ज महानगरपालिका, संघीय समाजवादी फोरम नेपाल

वीरगन्ज महानगरपालिकामा तपाईंको उम्मेदवारी किन ?

वीरगन्ज नगरबाट ‘मनी र माइन्ड’ दुवै पलायन हुन थालेपछि भोलिको वीरगन्जको भविष्य र यस क्षेत्रको मौलिकता लोप नहोस् । अनि वीरगन्जको विकास र युवा पिँढीको संरक्षण गर्न प्रमुख पदका लागि अग्रसर भएको हुँ । अब पुरानो ढर्राले आर्थिक नगर वीरगन्ज भनेर मात्र हुँदैन । यसको आधुनिक परिवेशअनुसार विकास निर्माण पनि गर्नुपर्छ ।

आगामी निर्वाचनमा मतदाताले तपार्इंलाई नै मत दिनुपर्ने कारण चाहिँ के हो ?

मैले शिक्षा, स्वास्थ्य र सामाजिक कामका लागि लाखौं रुपैयाँ खर्च गरेको छु । धेरै बालबालिका त्यसबाट लाभान्वित छन् । भर्खरै गएको बाढी र डुबानमा पनि ३२ घर परिवारलाई सरकारको मुख नहेरी विभिन्न सहयोग गरें । यो सबै बुझेका जनताले म जस्तो निस्वार्थी र उल्टै लगानीसमेत गरेर अरूको हित गर्ने व्यक्तिलाई स्थानीय तहको प्रमुख बनाउँदा यो ठाउँको समेत कल्याण हुन्छ भन्ने चाहेका छन् । त्यसैले जनताले मलाई मत दिन्छन् । यसको अलावा ३÷३ कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको विभिन्न जिम्मेवारीमा रहेर समाज रूपान्तरणका लागि कसरी काम गर्नुपर्छ भन्ने अतिरिक्त अनुभव पनि सँगालेको छु । फेरि सामाजिक कार्य गर्ने व्यक्ति नै स्थानीय तहमा आवश्यक पनि पर्छ । स्थानीय तहमा ठूलो राजनीतिक गरेको व्यक्तिभन्दा पनि जनताका काम गर्ने व्यक्ति आवश्यक ठानिन्छ त्यसैले राजनीतिभन्दा बाहिर रहेको भएर पनि म प्रमुखका लागि तयार भएको हुँ ।

यहाँको समृद्धि नहुनुको मूल कारण र त्यसको समाधान के हो ?

सर्वप्रथम भौतिक पूर्वाधारको अभाव रहेको महानगरमा आएको करोडांै रकम फिर्ता जाने जुन परिपाटी छ । त्यो रोक्न र स्थानीय तहमा आएको रकम खर्च गर्ने भिजन लागू गरी पुरानो परिपाटीको अन्त्य गर्दै स्थानीय तहमा आएको रकमबाट यहाँको समृद्धि गर्नु नै प्रमुख उपाय हो । २०६२÷०६३ को प्रजातान्त्रिक आन्दोलनपछि अब विकासको गतिलाई अघि बढाएर मात्र समाजको चाहना पूरा हुन्छ ।

उम्मेदवारको मात्र नभएर जनताको पनि अग्निपरीक्षा

अजय द्विवेदी

प्रमुख पदका उम्मेदवार, वीरगन्ज महानगरपालिका, नेपाली कांग्रेस

नगरप्रमुख पदमा तपार्इंकै उम्मेदवारी किन ?

पहिले उपप्रमुख हुँदा सँगालेको अनुभव र महानगरपालिका भइसकेपछि बढेको कागजी भूगोलका नागरिकलाई वास्तवमा नै गाउँबाट नगर र नगरबाट महानगरवासी बनाउन मेरो उम्मेदवारी हो ।

आफ्नो प्रमुख एजेन्डा नै  प्रदेश २ र राष्ट्रको पनि प्रतिष्ठा जोडिएको आयातनिर्यातको स्थल मार्ग समेत रहेको वीरगन्जलाई देशको समेत शिर ठाडो हुने गरी विकास निर्माण गर्ने उद्देश्यले मेरो प्रमुखमा उम्मेदवारी परेको हो । फेरि कांग्रेसको राजनीतिप्रतिको नेतृत्वदायी भूमिका र पार्टीको पनि विश्वासले पनि मेरो उम्मेदवारी हो ।

आगामी निर्वाचनमा तपार्इंका जितका आधार केके हुन् ?

मूल आधार भनेको राजनीतिकर्मीले राजनीतिक पदमा पुग्नुपर्छ भन्ने हो । उद्योगी वा व्यापारीले पैसाका भरमा राजनीतिक पद हत्याउने कि राजनीतिकर्मीले नै वर्षांैदेखिको त्याग र बलिदानीलाई अक्षुण्ण राख्ने भन्ने मूल प्रश्न हो । मेरो उम्मेदवारीले जनतालाई पनि राजनीतिकर्मीलाई राजनीति गर्न दिने कि पैसावाललाई राजनीतिका नाममा सलबलाउन दिने भन्ने अग्निपरीक्षामा तानेको छ । पैसा भएपछि जे पनि हुन्छ भन्ने मानसिकता भएकाहरू आफूले गर्दै आएको राजनीतिक दलबाट टिकट नपाएपछि नजराना चढाएर अर्को दलबाट टिकट पाएकाहरूको स्थिति देख्दा नेपालको राजनीति कता पुग्दै छ भन्ने स्पष्ट हुन्छ । राजनीतिकर्मीले राजनीति गर्नुपर्छ भन्ने मेरो मेरो मान्यता र जित्ने प्रमुख आधार हो ।

तपार्इंको विचारमा यहाँका समस्या केके हुन् ?

सडक विकासको प्रमुख सूचक हो । वीरगन्ज बजारभित्रको मुख्य सडकबाहेक अरू कुनै पनि सडक सञ्जाल राम्रो छैन । यो दुरवस्थाबाट नगरलाई माथि उठाउँदै शिक्षा र स्वास्थ्यमा पनि वीरगन्ज नगरलाई धेरै माथि उठाउनु छ ।अनि नगरवासीको चेतनास्तर पनि माथि उकास्न उनीहरूको पनि सहयोग र सुझाव लिनेदिने गरी सहकार्यबाट अघि बढ्नुको साथै ट्राफिक समस्या अल्पकालीन र दीर्घकालीन रूपमा व्यवस्थापन गर्नु मुख्य चुनौती हो ।

 तपार्इंलाई नै मतदाताले मत किन दिने ?

राजनीतिक रूपमा हिमालदेखि पहाडसम्म सबैलाई मिलाएर जाने पार्टीको एक प्रतिनिधिका रूपमा मलाई मत दिने हो । अनि राजनीतिक पृष्ठभूमि भएका व्यक्तिलाई नै भविष्यमा राजनीतिक क्षेत्रमा अघि बढाउनुपर्छ मान्यता बोकेकाले गलत धारणा लिनेलाई विस्थापित गर्न पनि मैले मत पाउने आधार हो ।

अनि विकासको प्रत्येक दिनको नयाँ नयाँ खुड्किला पार गर्न दीर्घकालीन सोच भएका व्यक्तिलाई टिकाइराख्न र जनमुखी काम गर्ने नेता नै राजनीतिमा रहनुपर्छ भन्ने मान्यतालाई स्थापित गराउन पनि मलाई मत दिने हो ।

प्रस्तुति :  तुलसी भण्डारी