कर्मचारी समायोजन विधेयकका लागि उपसमिति

राजधानी समाचारदाता / काठमाडौं

व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी समायोजनसम्बन्धी विधेयकको विषय टुंग्याउन पूर्वसामान्य प्रशासन मन्त्री रेखा शर्माको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिको सोमबार बसेको बैठकले नेकपा माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतकसमेत रहेकी शर्माको संयोजकत्वमा नौ सदस्यीय कर्मचारी समायोजन उपसमिति गठन गरेको हो ।

उपसमिति संयोजक शर्माले विधेयक विषयमा परेका संशोधन अध्ययन गर्ने, मन्त्रालय र सरोकारवालासँग परामर्शका आधारमा उपसमितिमा सहमति जुटाएर विधेयक समितिमा बुझाउने जानकारी दिइन् । आगामी ३ असोजमा बस्ने बैठकमा उपसमितिले विधेयक विषय टुंगो लगाएर बुझाउने तयारी रहेको समेत उनले जानकारी दिइन् ।

त्यस्तै, समिति बैठकले यातना नियन्त्रणसम्बन्धी विधेयक विषयमा समेत उपसमिति गठन गरेको छ । कांग्रेस सांसद जीवनबहादुर शाहीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन भएको हो ।