अर्काको एटीएमबाट रकम निकाल्ने विदेशी नागरिक समातिए

काठमाडौं / रास– अर्काको एटीएमबाट रकम निकाल्ने २ विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले एटीएम ह्याकरहरूविरुद्ध गरेको अभियानका क्रममा बुल्गेरियन र टर्किस नागरिकलाई पक्राउ गरेको हो ।

अनधिकृत रूपमा रकम निकाल्ने गिरोहविरुद्धको कारबाहीमा हालसम्म १५ जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाको साथबाट ८८ लाख रुपैयाँ बरामद पनि भएको छ ।

राहदानी नम्बर ३८४०३८०७८ का २३ वर्षीय बुल्गेरियन नागरिक र राहदानी नम्बर यू १०३२८५९१ का टर्किस नागरिक पक्राउ परेका ब्युरोले जनाएको छ । पक्राउ पर्नेमा युरोपबाट विभिन्न एटीएम कार्ड लिएर आएका टर्किस नागरिक एक्रम ओरम्यान्सी र बुल्गेरियन नागरिक मिट्को स्टोन्योनोभ मिटेभ छन् ।

ब्युरोकी प्रवक्ता एसपी मीरा चौधरीका अनुसार पर्यटक भिसामा नेपाल आएका उनीहरूले रकम झिकेर डलर सटही गरेर विदेश जाने योजनामा थिए । बुल्गेरियन नागरिकलाई आइतबार चाक्सीबारी ठमेलस्थित होटल बुद्धबाट र टर्किस नागरिकलाई ठमेलको क्षेत्रपाटीस्थित रोयल पेन्गुइन होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बुल्गेरियन नागरिकको साथबाट १ सय २८ थान एटीएम, ४ लाख ४० हजार नेपाली रुपैयाँ, २० अमेरिकी डलर, मोबाइल, ल्यापटपलगायतका सामग्रीसमेत बरामद भएको छ ।

हालसम्म ब्युरोले रोमानिया, टर्की र माल्दिभ्सका चारचार जना तथा बुल्गेरियाका तीनजना गरी कुल १५ जना विदेशी नागरिकहरूलाई एटीएम ह्याकिङ आरोपमा पक्राउ गरिसकेको छ ।

अर्काको एटीएम कार्डको गोप्य नम्बर पत्ता लगाई रकम झिक्ने गिरोहविरुद्धको कारबाहीबाट हालसम्म ८८ लाख ६८ हजार ८ सय ५० नेपाली रुपैयाँ, ७५ हजार २ सय ४५ अमेरिकी डलर, ७३ हजार ८ सय ७५ युरो र १ हजार ४ य ३९ थान एटीएम कार्ड बरामद भइसकेको छ ।