मौलिक सिर्जनाको जगेर्ना होस्

मौलिक सिर्जनाको जगेर्ना होस्

 

लोपोन्मुख ठाडो भाकाका गायक भेडीखर्के साँइला (दीर्घनाथ अधिकारी) को निधन भए लगत्तै अब ठाडो भाकाको जगेर्ना कसले गर्ला भन्ने चिन्ता बढेको छ एकथरि सर्जकलाई । ठाडो भाका आफैंमा मौलिक भाका भएपनि पछिल्लो पुस्ता ठाडो भाकासंग त्यति परिचित छैनन् । तर, भेडीखर्के साइँला ठाडो भाकाम विज्ञ मानिन्थे । १२ वर्षको उमेरदेखि ठाडोभाका गाउन थालेका साइँलाले पछिल्लो समय ठाडो भाकाको विकासका लागि संस्थागत पहल सुरु गरेका थिए । आफ्नो पुस्ताका ठाडोभाका गाउनेहरू विभिन्न कारण पलायन भएपनि साइला आफैंले लम्जुङ आशपासका युवालाई समेत ठाडो भाकाको महत्व बुझाएका थिए । अहिले त ठाडोभाका प्रतिष्ठान समेत गठन भएको छ ।

जन्मपछि मृत्यु स्वाभाविक हो । जोसुकैले एकदिन मर्नैपर्छ । फरक यति हो, समाजमा केही सकारात्मक काम गरेका व्यक्तिको निधन हुँदा सर्वत्र चासो र चिन्ता व्यक्त हुन्छ । भेडीखर्के साइँलाको निधनमा पनि त्यही भयो । उनको निधनसँगै नेपालको मौलिकता मिसिएको ठाडोभाका पनि विलय हुने त हैन । विगतमा कतिपय गायक, गायिका एवं कलाकारको निधनसँगै उनीहरूले संगालेको मौलिक कर्म विनासको क्रममा रहेकाले अहिलेका पुस्ता यस्ता सर्जकको मृत्युमा चिन्तित हुने गरेको छ । मौलिक सर्जकको निधन हुँदा युवाहरूले चिन्ता गर्नु एवं उनीहरूले सिर्जना गरेको मौलिक सिर्जनाको सम्बद्र्धन पहल गर्नु आफैंमा एउटा सकारात्मक कुरा हो । तर, सामाजिक सञ्जालमा भेडीखर्के साइलाको निधनमा श्रद्धान्जलिका शब्द व्यक्त गर्ने तर, मौलिकताको पहलमा जगेर्नामा पहल गर्नेहरूबाटै समाजले खासै अपेक्षा गरेको हुन्न । नेपाली संगीत पश्चिमा संगीतको प्रभावमा प¥यो भनेर चिन्ता व्यक्त गर्नेहरू बढेपनि मौलिकताको रक्षाका लागि युवा पुस्ताले चासो नदिएको यथार्थ घाम जत्तिकै छर्लङ्ग छ । अन्त जानै पर्दैन, मादल, सारंगी, बाँसुरी, ढोलक, मुर्चुङ्गालगायतका बाजा कुनै समय नेपाली गीतका लागि अनिवार्य मानिन्थ्यो । तर, अचेल ती कुनै पनि बाजाको प्रयोगविना गीत बनाउने चलन आएको छ । कसैले मादल, मादल, बाँसुरी वा सारंगी प्रयोग ग¥यो भने पनि केवल सोखका लागि भन्ने चलन छ ।

भेडी खर्के साइँला, झलकमान गन्दर्भ, अलिमियाँ, धर्मराज थापालगायत अघिल्लो पुस्ताका मौलिक गीत संगीतका सर्जक धेरैले स्वर्गको बाटो तय गरिसकेका छन् । ती स्रष्टाको निधन लगत्तै तिनै नाममा प्रतिष्ठान स्थापना गर्ने वा केही थान पुस्तक निकाल्नेबाहेकका प्रभावकारी काम कुनै पनि संघसंस्थाले गर्न सकेको छैनन् । यसको अर्थ स्रष्टाका नाममा खुलेका संघसंस्थाले कामै गरेनन् भन्ने होइन । जति गर्नु पर्ने हो त्यति नगरेको स्पष्ट छ । तसर्थ अब भेडीखर्केको निधनमा सामाजिक सञ्जालमा हार्दिक श्रद्धान्जली मात्रै लेखेर उनीहरूको सम्मान हुँदैन । यी अमूल्य श्रष्ठाको वास्तवमै सम्मान गर्ने हो भने सबैभन्दा पहिला ती स्रष्टाको रचनालाई लिपिबद्ध र सुरक्षित गर्नुपर्छ भने नयाँ पिढिलाई पनि मौलिक सिर्जना गर्न प्रेरित गर्नुपर्छ ।