दुई फोरमबीच एकीकरण

काठमाडौं / रास– संघीय समाजवादी फोरम नेपाल र मधेस तराई फोरमबीच पार्टी एकीकरण भएको छ । प्रदेश २ को स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भएको पार्टी एकीकरणले पार्टी झन् बलियो हँुदै गएको नेताहरूले बताए ।

मंगलबार रौतहटमा आयोजित एक कार्यक्रमबीचमा दुई फोरमबीच एकीकरण भएको हो । वर्तमान राजनीतिक अवस्था एवं स्थानीय चुनावलाई मध्यनजर गर्दै पार्टीको नीति, सिद्धान्त र एजेन्डाप्रति सहमत हुँदै फोरम नेपाल र मधेस तराई फोरमबीच औपचारिक रूपमा एकीकरण गरिएको घोषणापत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रमा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेस तराई फोरमका अध्यक्ष अमर यादवले हस्ताक्षर गरी संविधान संशोधन, मधेसका साथै देशमै ठूलो दल बनाउन पार्टी एकीकरण गरिएको जनाएका छन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको स्थापनाकालदेखि पहिलो र दोस्रो मधेस आन्दोलनसम्म अमर फोरम नेपालमा केन्द्रीय कोषाध्यक्ष पदमै रहेर सक्रिय थिए ।