‘सिंहदरबारका फाइलसमेत महिलामैत्री छैनन्’

काठमाडौं / रास– महिला, बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले मन्त्रालयमा बस्ने कुर्सीदेखि बोक्ने फाइलसम्म महिलामैत्री नभएको बताएकी छन् ।

मन्त्रालयमा मंगलबार आयोजित महिला, बालबालिका तथा सामाजिक सरोकारका विषयमा कलम चलाउने पत्रकारसँग छलफल कार्यक्रममा बोल्दै मन्त्री कोइरालाले नेपाली समाज पुरुषप्रधान रहेको र त्यसको प्रतिबिम्ब सिंहदरबारमा पनि रहेको धारणा राखिन् ।

‘सरकारी कार्यालयहरूमा कुर्सी, टेबुल र भ¥याङ मात्र होइन, हामीले बोकेर हिँड्ने फाइलसमेत पुरुषमैत्री छन्’, उनले भनिन् । तीन दर्जन बढी सञ्चारकर्मीहरू उपस्थित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कोइरालाले महिलाले सानो हाते ब्याग बोकेर हिँड्ने हुनाले मन्त्रालयका फाइलहरू ब्यागमा नअँटाउने र हातैमा बोकेर हिँड्नुपर्ने समस्या रहेको बताइन् । ‘यहाँ जे जति संरचना बनेका छन्, ती सबै पुरुषमैत्री मात्र छन्,’ मन्त्री कोइरालाले भनिन् ।

समाज कल्याण परिषद्को अध्यक्षको कुर्सीमा बस्दा समेत आफूलाई अप्ठेरो हुने गरेको बताउँदै मन्त्री कोइरालाले मन्त्रीहरूले समेत यस्तो अप्ठेरो भोग्नुपरिरहेको अवस्थामा अन्यत्र काम गर्ने महिलाले झनै चुनौतीको सामना गर्नुपरेको बताइन् ।

महिलामाथिका विभेद र हिंसाले गर्दा महिलाहरू पछाडि परिरहेको भन्दै मन्त्री कोइरालाले विभेद र कुरीतिको अन्त्य र महिलामाथिका हिंसालाई नियन्त्रण गर्न सबै स्थानीय तहमा तत्काल उद्धार टोली (¥यापिड, रेस्पोन्स र एक्सन टिम) गठन गर्नुपर्ने धारणा राखिन् ।

यसका लागि मन्त्रालयले आवश्यक योजना बनाइरहेको र निकट भविष्यमै सबै स्थानीय तहमा तत्काल उद्धार कार्यका लागि कर्मचारी, वकिल, प्रहरी, पत्रकार, स्वास्थ्यकर्मी र नागरिक समाज रहेको एउटा टिम निर्माण गर्ने उनले बताइन् ।