अन्तर्घात गर्नेलाई कांग्रेसले कारबाही गर्ने

राजधानी समाचारदाता / काठमाडौं

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा आधिकारिक उम्मेदवारलाई अन्तर्घात गर्ने आफ्ना कार्यकर्तालाई कारबाही गर्ने भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय अनुशासन समितिको बैठकले प्रदेश २ बाहेकका ६ वटै प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध लाग्ने कार्यकर्ताको नाम कारबाहीका लागि पठाउन भनेको हो । त्यसका लागि १० असोजसम्म केन्द्रीय कार्यालयमा उजुरी गर्न सकिने बताइएको छ ।

बैठकले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा असहयोग गरेको भनी स्थानीय तहबाटै आएका उजुरीका सम्बन्धमा समेत आरोपित व्यक्तिसँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ ।

समितिका संयोजक रमेश रिजालको अध्यक्षतामा बसेको बैठकले समितिको कार्यविधि, २०७० लाई संशोधनसहित पारित गरेको छ । यस्तै, केन्द्रीय अनुशासन समितिको सचिव पदमा केन्द्रीय कार्यालयका सचिव अधिवक्ता केशव रिजाललाई नियुक्त गरेको छ ।

स्थनीय तह निर्वाचनमा हालसम्म पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको सम्बन्धमा केन्द्रीय कार्यालयमा सयभन्दा बढी उजुरी परेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।