उपसभामुखलाई स्पष्टीकरण

राजधानी समाचारदाता / काठमाडौं

निर्वाचन आयोगले  आचारसंहिता उल्लंघन गरेको भन्दै व्यवस्थापिका संसद्का उपसभामुख र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्षसँग स्पष्टीकरण मागेको छ । आयोगले संसद्का उपसभामुख गंगाप्रसाद यादव र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेशराज दाहाललाई आचार संहिता उल्लंघन गरेको कारण देखाउँदै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो ।

आयोगले यादवलाई प्रदेश नम्बर २ अन्तर्गत सप्तरी जिल्लाको निर्वाचनको प्रचार प्रसारमा आचारसंहिताविपरीत भारतीय नम्बर प्लेटका गाडी प्रयोग गरेको सूचना आयोगमा प्राप्त हुन आएको र व्यवस्थापिका संसद्को उपसभामुख पदमा आसीन व्यक्तिले यसरी आचारसंहिताविपरीत चुनाव प्रचार प्रसार गरेबापत उनलाई कारबाही हुनुपर्ने हो र होइन ? भन्दै २४ घण्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

त्यसैगरी, आयोगले नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहाललाई २६ भदौमा नेपाली कांग्रेसले ललितपुरमा आयोजना गरेको राजनीतिक कार्यक्रममा उपस्थित रहेको सूचना आयोगमा प्राप्त हुन आएको र नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष पदमा रहेको पदाधिकारी कुनै दल विशेषले आयोजना गरेको राजनीतिक कार्यक्रममा संलग्न हुने कार्य निर्वाचन आचार संहिताविपरीतको कार्य भएकाले आचारसंहित उल्लंघन गरेबापत कारबाही गर्नुपर्ने हो र होइन ? भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।