एमाले कार्यालयमा विशेष सुरक्षा

सुजितकुमार झा / जनकपुरधाम

नेकपा एमालेको धनुषा जिल्ला कार्यालयलाई प्रहरीले कडा सुरक्षा दिइएको छ । सुरक्षाको दृष्टिले संवेदनशील रहेको सो कार्यालयको चारैतिर सुरक्षाकर्मीले निरन्तर गस्ती पनि गरिरहेको छ । जनकपुरस्थित सो कार्यालयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैलाई खटाइएको छ ।

एमाले कार्यालयमा प्रहरीले कडा सुरक्षा दिन थालेपछि सो कार्यालयमा प्रवेश र आवतजावत कडा भएको छ । निर्वाचन सुरु भएयता धनुषा जिल्लामा एमालेको गाउँदेखि जिल्लासम्म सबै कार्यालयलाई विशेष सुरक्षा दिइएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अधिकारीहरूका अनुसार विभिन्न पार्टी कार्यालय र उम्मेदवारकै सुरक्षाका लागि मात्रै ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले सुरक्षा सबै पार्टी कार्यालयमा दिइएको छ तर एमालेलाई बढी थ्रेट देखिएकाले त्यसमा बढी सुरक्षाकर्मी खटाइएको जानकारी दिए ।

नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका पार्टीको कार्यालयलाई सामान्य गस्ती गरी प्रहरीले सुरक्षा गरिरहेको छ । एमालेका वरिष्ठ नेताहरू जनकपुरमा आउनेबित्तिकै उनीहरूका विरुद्ध मधेसवादी दलहरूले विरोध प्रदर्शन गर्ने कार्यक्रमहरू जारी नै राखेका छन् ।

विरोधकै कारण मनोनयन दर्तापछि जनकपुरमा एमालेका कुनै वरिष्ठ नेता अहिलेसम्म आउन सकेका छैनन् । जिल्ला आएका एमालेका नेताहरू राजमार्गमै कार्यक्रम गरी फर्कने गरेका छन् ।

मधेसवादी दलहरूको गैरराजनीतिक चरित्रका कारण यो अवस्था आएको जनकपुर उपमहानगरपालिकामा एमाले उम्मेदवार लक्ष्मीनारायण भगतले गुनासो गरेका छन् । ‘एमालेलाई जति दबाउने गरिन्छ, २ नम्बर प्रदेशमा त्यति राम्रो प्रदर्शन एमालेले गर्नेछ,’ उम्मेदवार भगतले भने ।

यसैगरी धनुषाको २ सय २२ वटा मतदान केन्द्र स्थललाई विशेष निगरानीमा राखिएको छ । ती केन्द्रहरू विशेष संवेदनशील वर्गमा राखिएकाले बढी मात्रामा सुरक्षाकर्मी खटाइएको धनुषाका प्रहरी नायब उपरीक्षक धितालले बताए । उनका अनुसार पहिलाभन्दा चारगुणा बढी सुरक्षाकर्मी खटाइएको छ । यसैगरी सुरक्षामा समस्या देखिएका स्थानहरूमा विशेष निगरानी गरिएको छ भने बजारमा रहेको होटलहरू राति ९ बजेपछि बन्द गर्नुपर्ने नियम लगाइएको छ ।