१० पुरुष प्रमुखलाई टक्कर दिँदै रामेश्वरी

रमेश तिमलसिना / रौतहट

आउँदो २ असोजमा हुने स्थानीय तहको निर्वाचनमा गुजरा नगरपालिका प्रमुखमा १० पुरुष उम्मेदवारलाई थारू समुदायकी एक मात्र महिला उम्मेदवार महिलाले कडा चुनौती दिँदै निर्वाचनमा होमिएकी छन् ।

नेकपा एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेकी रामेश्वरी चौधरीले अन्य १० पुरुष नगरप्रमुखका उम्मेदवारलाई निर्वाचनमा हराएर नगरप्रमुख पदमा निर्वाचित हुने दाबीसमेत गरेकी छन् । रौतहटमा पाँच महिलाले नगरप्रमुखमा उम्मेदवारी दिएका छन् । चौधरी भने आफ्नो उम्मेदवारीको फरक सन्देश रहेको दाबी गर्छिन् ।

‘मधेसजस्तो ठाउँमा महिलाले पनि नगरपालिका चलाउन सक्छन् भन्ने उदाहरणको पात्र म बनेर देखाउँछु,’ चौधरी भन्छिन् । आफूले उम्मेदवारी दिएको नगरलाई मापदण्ड नै नपुगी नगरपालिका बनाइएको भन्दै आफूले जिते नगरवासीले पाउनुपर्ने सम्पूर्ण सेवा सुविधाको व्यवस्था गर्ने उनको भनाइ छ ।

गुजरा नगरपालिकामा अधिकांश थारू समुदायको बसोबास छ । नगरपालिकामा कांग्रेसको तर्फबाट सेख दाउद, नेकपा माओवादी केन्द्रको तर्फबाट पलट चौधरी, राष्ट्रिय जनता पार्टीको तर्फबाट सन्तलाल चौधरीलगायतले प्रमुखमा उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसका सेख दाउद साबिक कनकपुर गाविसका पूर्वअध्यक्ष हुन् । नगरपालिकामा साबिक कनकपुर, रंगपुर, प्रतापपुर पल्टुवा, सिमरा भवानीपुर र लक्ष्मीपुर दोस्तिया गाविस गाभिएका छन् ।  रौतहटका १८ वटै स्थानीय तहमा दलहरूले निर्वाचन गतिविधि तीव्र बनाएका छन् ।  केन्द्रीय नेताहरूलाई लिएर नगरप्रमुखका उम्मेदवार घरदैलोमा व्यस्त छन् ।