मधेसी जनतालाई माया गर्ने पार्टी नै एमाले हो

मधेसी जनतालाई माया गर्ने पार्टी नै एमाले हो

प्रदीप यादव
प्र्रमुख पदका उम्मेदवार, बौद्धिमाई नगरपालिका, नेकपा एमाले

यो नगरपालिका भारतीय सीमा क्षेत्रमा रहेको छ । यहाँका मधेसी जनतालाई माया गर्ने पार्टी नै एमाले भएकाले मेरो जित सुनिश्चित छ ।
यो नगरको समग्र विकासमा एमाले जतिको काम अरू दलले गर्न सक्दैन ।
मधेसी जनताको हक र अधिकारका लागि एमालेको कुनै विकल्प छैन । बौद्धिमाई नगरपालिका एउटा सहरोन्मुख नगरपालिका भएकाले यसका धेरै पूर्वाधारहरूको विकास गर्नुपर्नेछ, त्यसका लागि पनि मेरो उम्मेदवारी हो । यहाँ बिजुली, खानेपानी, सडक, सिँचाइलगायतका यावत् समस्याहरू छन् । जुन हामी मानव जीवनका लागि अनिवार्य आवश्यकता हो ।
तर, सो आवश्यकता पूरा हुन नसक्दा यहाँका जनता पिछडिन पुगेको छन् । ती समस्या समाधानका लागि पनि मेरो उम्मेदवारी हो ।
यहाँका मतदाता सचेत छन्, मतदाताको विश्वास मलाई प्राप्त भए ती विश्वासलाई इमानदारीपूर्वक कार्यक्षेत्रमा उतार्नु मेरो दायित्व हुनेछ ।
यहाँको विकास निर्माणका पक्षमा काम गर्न जुनसुकै बखत पनि कार्यक्षेत्रमा खट्न सक्ने जोस र जाँगर मसँग छ ।
अग्रजहरूको सल्लाह र सुझाव लिँदै नेपाली समाजमा रहेका विसंगति र विकृतिका विरुद्ध काम गरी समाजलाई परिवर्तत गर्ने जिम्मेवारी अब युवाको काँधमा आएको छ ।

भ्रष्टाचारमुक्त नगर

राजनबाबु जयसवाल
प्रमुख पदका उम्मेदवार, बौद्धिमाई नगरपालिका, राष्ट्रिय जनता पार्टी

बौद्धिमाई नगरपालिकालाई भ्रष्टाचारमुक्त नगर बनाउने प्रतिबद्धता मैले जनाएको छु । भ्रष्टाचाररहित सहर बनाउने उद्देश्यका साथ राजपाको तर्फबाट नगर प्रमुखमा उम्मेदवारी दिएको हुँ ।
समाजमा व्याप्त गरिबीको उल्मूलन र शिक्षाबाट वञ्चित वर्गलाई शिक्षाको अवसर दिलाउनु मेरो प्रमुख दायित्व हुनेछ । नगरमा रहेका यावत् समस्याहरूको निराकरण मेरो पहिलो प्राथमिकतामा पर्नेछ । नगर प्रमुखमा जितेमा बंकुल बजारमा नालाको व्यवस्था, फराकिलो सडकको व्यवस्था, स्वच्छ खानेपानीको व्यवस्थाका लागि उच्च प्राथमिकताका साथ योजनाबद्ध रूपमा काम गर्नेछु ।
मधेसी जनताको हक र अधिकार अनि सेवासुविधाका लागि जस्तोसुकै मूल्य चुकाएर भए पनि नगर विकासका लागि दिलोज्यान दिएर अगाडि बढ्नेछु । खुला सिमानाका कारण सुरक्षाको चुनौती र समाधानका लागि पनि पहल काम गर्ने मेरो योजना हुनेछ । राजपा मधेसी जनताको आफ्नै पार्टी भएकाले मैले जित्नु भनेको मधेसी जनताले जित्नुसरह हो ।

नमुना सहर बनाउँछु

रामलोचनप्रसाद जयसवाल
प्रमुख पदका उम्मेदवार, बौद्धिमाई नगरपालिका, नेपाली कांग्रेस

निर्वाचन प्रचारप्रसारका क्रमममा बौद्धिमाई नगरपालिकालाई नमुना सहर बनाउने प्रतिबद्धता जनाएको छु, सोहीअनुसार
काम गर्नेछु । यो नगरपालिका गाउँ नै गाउँले भरिएको नगरपालिका भएको हुँदा किसानहरूको आर्थिक स्तर उकास्न र विकासका लागि दिगो
योजना ल्याउनेछु ।
आमनगरवासीको भावनालाई समेटेर नगरको विकासका लागि आफूले सक्दो पहल गर्ने र क्रमिक रूपमा गाउँलाई सहरका रूपमा विकास गर्दै लैजानुपर्ने अवस्था रहेकाले सो कार्यलाई आफ्नै पदावधिभित्र पूरा गर्नेछु ।  यो क्षेत्र भनेको नेपाली कांग्रेसको क्षेत्र भएको हुँदा मेरो जित सुनिश्चित छ ।

प्रस्तुति : कृष्ण सिग्देल