नबिल बैंकद्वारा अमेरिकी डलर आयात

काठमाडौं / रास– नबिल बैंकले अमेरिकी डलर आयात गरेको छ । बजारमा नगद अमेरिकी डलरको तीव्र अभावका कारण विदेश यात्रा गर्ने नेपालीको असुविधालाई धेरै हदसम्म निवारण गर्न मद्दत गर्ने बैंकले जनाएको छ ।

बैंकले यात्रुलाई राहदानीबापतको अमेरिकी डलरमा प्रिपेड कार्ड उपलब्ध गराउँदै आएको छ । अब ग्राहकहरूले नबिल बैंकबाट कार्ड र नगद आवश्यक परेको बेला तोकिएको मात्रामा प्राप्त गर्न सक्नेछन् । यो सुविधा सबै शाखाबाट उपलब्ध हुनेछ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत सशीन जोशीका अनुसार यो आयातले विदेश जाने नबिल बैंकका ग्राहकको वास्तविक मुद्रा आवश्यकता अब एकैथलोबाट सम्बोधन हुुुुने छ । बैंकले आर्थिक वर्ष २०७३÷७४ मा बैंकिङ उद्योगमै ३ अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको सेयरमा आम्दानी २६ दशमलव ६५ प्रतिशत र प्रतिसेयर आम्दानी ५८ दशमलव ४१ का साथ आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ४० अर्ब पु¥याएको छ । गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश गरी ४८ प्रतिशत लाभांशको घोषणा यसभन्दा अघि नै बैंकले गरिसकेको छ ।