मकवानपुरको मनहरीमा सिटिजन्स बैंक

काठमाडौं / रास– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मकवानपुरको मनहरीमा शाखा विस्तार गरेको छ । यो बैंकको ६२औं शाखा हो । शाखा उद्घाटन समारोहमा जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो ।

सो अवसरमा बैंकले दुई स्थानीय विद्यालयहरूलाई १–१ थान कम्प्युटर वितरण गर्नुका साथै मनहरी बजारमा आयोजना हुन लागेको दुर्गा उत्सव सम्पन्न गर्नका लागि आर्थिक सहयोगस्वरूप १० हजार रुपैयाँ प्रदान गरेको छ ।

यससँगै बैंकको शाखा ६२ वटा पुगेको छ । बैंकले शाखासहित ५९ वटा एटीएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक सेवाबाट करिब ३ लाख ५० हजार ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा एटीएम कार्ड, भिसा इन्टरनेसनल डलर कार्ड, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

देशको विभिन्न क्षेत्रका ग्राहकवर्गलाई सेवा उपलब्ध गराउने अभिप्रायले बैंकले निकट भविष्यमा हुम्लाको सर्केगाड, दाङको बंगलाचुली, झापाको हल्दिबारी, महोत्तरीको औरही तथा बर्दियाको बडैयातालमा शाखा विस्तार गर्ने योजना अघि सारेको छ ।