म्यानपावर व्यवसायीले वैदेशिक रोजगार विभाग घेरे , धरौटी रकम १ करोड पु¥याउन खोजेकोमा व्यवसायी आन्दोलित

राजधानी समाचारदाता / काठमाडौं

वैदेशिक रोजगार व्यवसायीहरूले सरकारले धरौटी रकम बढाएर १ करोड रुपैयाँ लिने कानुनी व्यवस्था गरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन् । धरौटी रकम बढाएर १ करोड पु¥याउन खोजेकोमा तीव्र असन्तुष्टी जनाउँदै आन्दोलित भएका व्यवसायीले मंगलबार वैदेशिक रोजगार विभागको कार्यालयमा धर्ना दिएका हुन् ।

वैदेशिक रोजगार विभाग धर्ना दिन पुगेका वैदेशिक रोजगार व्यवसायीले आफूहरूको मागप्रति सरकार गम्भीर नभए कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको नेतृत्वमा विभाग घेराउ गर्न गएका व्यवसायीहरूले १ करोड धरौटी लिने प्रस्तावित ऐन पारित गरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका हुन् । उनीहरूले १ करोड धरौटी रकम लिने ऐन बनाउन नेतृत्व गरेकाले वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेको कार्यकक्षमा धर्ना दिन आउनुपरेको पनि स्पष्ट पारेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले १ करोड धरौटी लिने कानुनी व्यवस्था गरे व्यवसायीहरू आफ्ना सम्पूर्ण काम कारबाही छाडेर सरकारविरुद्ध आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए । संघले इजाजतपत्रवाला व्यवसायीहरूको धरौटी रकम वैदेशिक रोजगार ऐन–२०६४ मा व्यवस्था गरेअनुसार हुनुपर्ने माग पनि गरेको छ ।

वैदेशिक रोजगार व्यवसायीहरूले श्रम सम्झौता गरेर गन्तव्य मुलुकमा वैदेशिक रोजगारीका लागि पठाउने व्यवस्था गर्न पनि सरकारलाई दबाब दिँदै आएको छ । व्यवसायीहरूले धरौटी रकम बढाएर १ करोड पु¥याउँदैमा वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटना नघट्ने भन्दै सरकारको यो कार्य एकदमै अव्यावहारिक भएको दाबी गरेका छन् ।