शिवशक्ति उद्योगमा सिलबन्दी

कृष्ण सिग्देल
सिमरा , २७ भाद्र

बाराको जितपुरमा रहेको शिवशक्ति उद्योग मंगलबार आपुर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागले शिलबन्दी गरेको छ । मंगलवार साझ बाराको जीतपुरमा रहेको शिवशक्ती घयु उद्योगमा छापा मार्दै अखाद्य तेल उत्पादन गरेर बजारमा विक्रीवितरण गरेको भन्दै तेल उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ ।

काठमाण्डौबाट आएको बिभागको टोलीले उद्योगमा छापा पार्दै अर्को निर्देशन नआएसम्म तेल उत्पादन नगर्न र बजार नपठाउन निर्देशन दिएको हो ।

उद्योगको उत्पादन फेमिलि तोरीको तेल परिक्षणका क्रममा गुणस्तरहिन देखिएपछि बिभागका शाखा अधिकृत मोहन कुमार पुडासैनीको नेतृत्वको टोली अनुगमनका लागि आएको हो । उद्योगको उत्पादन क्षेत्रमा अनुगमन गर्दै टोलीले उद्योगलाई तेल उत्पादन र कारोबारमा रोक लगाएको हो । अर्को निर्देशन नआएसम्म उत्पादन र बिक्रीमा रोक लगाउन निर्देशन दिएको अधिकृत पुडासैनीले जानकारी दिए ।

उद्योगले फेमीली र साजन तोरीको तेल उत्पादन गर्दै आएको छ । गत साउनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले फेमिली तोरीको तेलको स्याम्पल लिएर परीक्षण गर्दा तेलको प्यारेक्साईट भ्याल्यू मापदण्डभन्दा बढी फेला परेको थियो । नियमानुसार प्यारेक्साईट भ्याल्यू १० हुनुपर्नेमा ११ दशमलब ५ रहेको पाइएको अधिकृत पुडासैनीले बताए ।

बजारमा बिक्रीका लागि राखिएको फेमिलि, साजन, धारा र पतञ्जली तेलको परिक्षण गरिएकोमा फेमिलि खानका लागी उपयुक्त नभएपछि अनुगमनका लागि आएको पुडासैनीको भनाई छ । गत चैत्रमा उत्पादन भएको तेल ६ महिनासम्म खान उपयुक्त हुने भएपनि चौथो महिनामा परिक्षण गर्ने क्रममा गुणस्तरहिन देखिएको शाखा अधिकृत पुडासैनीले बताए ।

उद्योग राष्ट्यि प्रजातन्त्र पार्टीका समानुपातिक सांसद राजकुमार अग्रवाल र व्यवसायी सन्दीप कुमार काडियाको हो । अनुगमन टोलीले शिवशक्ति घ्यूमा पनि मिसावट भएको भन्नेबारे जानकारी पाएपनि उद्योगीहरुले अवरोध गरेपछि घ्यूको प्लान्टमा अनुगमन गर्न सकेन् । उद्योगीले अनुगमनका लागि पुगेको टोलीलाई गेटमै रोक्ने प्रयास समेत गरेका थिए । अनुगमनका लागि बिभागको टोली पुगेको सूचना पाएपछि आएका उद्योगीले बिभागले रोक लगाउन दिएको निर्देशन पत्रसमेत बुझ्न मानेनन् ।

उद्योगीले अनुगमनमा अवरोध पु¥याएपछि बिभागको टोली राती हेटौडा फर्किएको छ । अनुगमनका क्रममा स्थानीय प्रशासनले आवश्यक सहयोग नगर्दा सोचेअनुरुप अनुगमन हुन नसकेको पुडासैनीले बताए ।