यात्रुका कष्ट दूर होस्

यात्रुका कष्ट दूर होस्

 

हरेक दिन रातको समयमा बन्द हुँदै आएको नारायणगढ–मुग्लिन सडक २४सै घण्टा सुचारु हुने खबरले चाडपर्व छेकोमा आवतजावत गर्ने यात्रुलाई खुसी बनाएको छ । किनकि अब काठमाडौं आवतजावत गर्नेले सडक बन्द भएकै कारण मुग्लिन आसपासमा जाममा बस्नुपर्नेछैन । सडकको अवस्थाबारे जानकारी दिन ठाउँठाउँमा राखिएका सूचना केन्द्रले यात्रुलाई थप सजिलो बनाएको छ । यदि कतै बाटो भत्किएको छ भने पनि अब यात्रुले पूर्वजानकारी पाउने सम्भावना बढेको छ । पूर्वजानकारी दिने परिपाटीले यात्रुलाई जोखिमबाट मात्रै मुक्त गर्न सकिँदैन । जामको अनावश्यक कहरबाट पनि छुट्कारा दिन सकिन्छ ।

मुग्लिन–नारायणगढ सडक विस्तारको क्रममा भएकाले केही महिनायता अवरोध हुँदै आएको थियो भने विस्तारकै क्रममा पहिरो जानाले कतिपय यात्रुले ज्यानसमेत गुमाए । अहिलेको परिपाटीले अबका केही दिन मुग्लिन–नारायणगढमा समस्या आउने सम्भावना थोरै छ । राजमार्गको केन्द्रमा रहेकाले मुग्लिन–नारायणगढ सडकखण्ड धेरैको चासोको विषय बनेको छ । यस्तै समस्या अन्य कतिपय ग्रामीण सडकहरूमा पनि छ भन्नेमा सरोकारवाला निकायका अधिकारी चनाखो हुन जरुरी छ । नेपालका ग्रामीण सडक बर्खायाममा यसै पनि बिग्रने सम्भावना बढी हुन्छ । यस वर्ष धेरै वर्षा हुनुका साथै दसंै असोजको पहिलो सातामै परेकाले धेरै ग्रामीण सडकको मर्मत हुन सकेको छैन । तसर्थ जहाँ सडक पुगेको छ, ती स्थानका सडकलाई व्यवस्थित बनाउने पहल तत्कालै गर्नु जरुरी छ । दसैंतिहारजस्ता पर्वहरूमा धेरै नेपालीको आउजाउ हुने भएकाले निश्चय नै सडकमा सवारी र यात्रुको चाप बढी हुन्छ । यस्तो अवस्थामा यात्रुलाई सहज रूपमा गन्तव्यमा पु¥याउनु राज्यको दायित्व हो । हाम्रो मुलुकका सीमित स्थानमा मात्रै हवाई यात्राको सुविधा भएकाले पनि धेरै यात्रुको गन्तव्य सडक नै हुने गरेको छ ।

अब दसैं आउन दुई साता मात्रै बाँकी छ भने घटस्थापनादेखि नै काठमाडौंबाट बाहिरिने यात्रुको चाप बढ्नेछ । एक साता मात्रै बाँकी रहेकाले बिग्रिएका सडकको मर्मत तत्कालै गरिनुपर्छ । केही दिन घाम लाग्नेबित्तिकै कतिपय ग्रामीण सडक सुचारु हुन्छन् भने पानी पर्नेबित्तिकै अवरुद्ध हुने स्थिति छ । ती सडकलाई कसरी सुरक्षित रूपमा सुचारु गर्न सकिन्छ आजै पहल सुरु गर्नुपर्छ । हरेक सडकमा सुरक्षाकर्मी तैनाथ गरेर बिग्रेका सडक मर्मत गर्न नसकिएला । जहाँ सडकको अवस्था नाजुक छ, ती स्थानमा केही डोजर र प्राविधिकलाई सम्पर्कमा राख्ने हो भने समस्या आउनेबित्तिकै समाधान गर्न सकिन्छ । आशा गरौं, यसपालि गाउँ र नगरपालिकामा स्थानीय जनप्रतिनिधिसमेत भएकाले यात्रुहरूले यात्राकै क्रममा भए पनि स्थानीय तहमा जनप्रतिनिधि भएको अनुभूति
गर्न पाउँनेछन् ।