‘क्षेत्रीय पार्टीबाट मधेसको समस्या समाधान हुँदैन’

राजधानी संवाददाता / राजविराज

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मधेशको समस्या क्षेत्रीय तथा साम्प्रदायिक पार्टीहरूबाट समाधान हुन नसक्ने भन्दै देशैभर संगठन रहेका माओवादी केन्द्रलाई आसन्न निर्वाचनमा विजयी बनाउन आग्रह गरेका छन् ।

प्रदेश नं. २ को चुनावी दौडाहामा रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले बुधबार सप्तरीको सदरमुकाम राजविराजमा माओवादी केन्द्र जिल्लाद्वारा आयोजित पत्रकार सम्मेलनमा त्यस्तो धारणा राखेका हुन् । “मधेशको समस्या क्षेत्रीय र साम्प्रदायिक भावना बोकेका पार्टीबाट समाधान सम्भव छैन, उनले भने, “यसका लागि देशैभर संगठन रहेका राष्ट्रिय पार्टी माओवादी केन्द्रलाई विजयी गराउनु जरुरी छ ।” मधेशको असली मित्र माओवादी केन्द्र नै रहेको दावी गरेका उनले मधेशी जनताको आवाज पहिलो पटक माओवादीले नै उठाएको जनाउँदै आफ्नो पार्टीलाई निर्वाचनमा पहिलो शक्ति बनाउन आग्रह गरे ।

माओवादी विद्रोहकालदेखि नै मधेशको पहिचान र अधिकारका लागि लडेको पार्टी हो, उनले थपे । यो विषय विद्रोहकालदेखि संविधान संशोधन विषयसम्म माओवादीले देखाएको पहलबाट पनि प्रमाणित भएको छ, उनले भने । मधेशप्रति माओवादी केन्द्रको लगाव र स्पष्ट नीतिका कारण मधेशमा विभिन्न दलका प्रभावशाली नेतासहित ठूलो संख्यामा कार्यकर्ता माआवादी केन्द्रमा प्रवेश गरेको भन्दै उनले प्रदेश नं. २ मा २ असोजमा हुने स्थानीय तह निर्वाचनमा पार्टी एक नम्बर बन्ने दावी गरे ।  पार्टीले मधेशका लागि गरेका कामकै कारण मधेशमा अरु पार्टी छाडेर माओवादी प्रवेश गर्ने लहर नै चलेको बताएका उनले हाल चुनावी दौडाहाका व्रmममा एकै दिन १० हजारसम्मको संख्यामा अरु पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेको जनाए ।

प्रदेश नं. २ मा परिवर्तनकारी शक्तिलाई विजयी बनाउन सन्देशका साथ दौडाहामा निस्केको उल्लेख गर्दै उनले निर्वाचनपछि परिवर्तनकारी शक्तिले राम्रो परिणाम ल्याए दुई तिहाई पु¥याएर संविधान संशोधन गरिन छाड्ने बताए ।