महागढीमाईलाई तीव्र गतिमा विकास गर्नेछु

महागढीमाईलाई तीव्र गतिमा विकास गर्नेछु

महानन्द यादव
प्रमुख पदका उम्मेदवार, महागढीमाई नगरपालिका, नेकपा एमाले

सबभन्दा पहिले भोजपुरी भाषालाई स्थानीय तहमा सरकारी कामकाजको भाषा बनाउनेछु । जग्गाविहीन दलितहरूलाई एक पटकका लागि जग्गाको व्यवस्था गरी घरसमेत बनाउन कार्य गर्ने, स्वास्थ्य बिमा, निःशुल्क उपचारको व्यवस्था, बाली विकास र किसानले तय गरेको मूल्यमा कृषि उत्पादन सरकारले खरिद गर्ने प्रक्रिया सुरु गर्नेछु । त्यसैगरी सिपमूलक तालिमको व्यवस्था, प्रवीणता तह उत्तीर्ण प्रत्येक विद्यार्थीलाई एक÷एक थान ल्यापटपको व्यवस्था गर्नेछु । खेलकुदको विकासका लागि सबै खालका खेलका लागि खेलाडीको
विकास गर्नेछु । प्रत्येक गल्लीलाई सडकको रूपमा विकास र स्तरोन्नति गर्दै गरिबी न्यूनीकरणका लागि युवाहरूलाई रोजगारीको अवसर सिर्जना गर्ने योजना छ । नगरपालिकाभित्र तीन वर्षभित्र बेरोजगारी समस्या अन्त्य गर्ने योजना छ । सो लक्ष्य प्राप्तिका लागि तीव्र गतिमा विकास निर्माणका गतिविधिलाई अगाडि बढाइनेछ ।

गरिब जनताका पक्षमा काम गर्नेछु

उपेन्द्रप्रसाद यादव
प्रमुख पदका उम्मेदवार, महागढीमाई नगरपालिका, नेपाली कांग्रेस

महागढीमाईका जनताको सुख, शान्ति, समृद्धि र रोजगारीको अवसर सिर्जना गर्न मैले प्रमुख पदमाा उम्मेदवारी दिएको छु । राजतन्त्रात्मक व्यवस्थाकालीन सोचजस्तै यहाँ अहिले पनि सामन्तवादी विचारधाराबाट जनता पीडित र प्रताडित छन् । निष्पक्ष रूपले म जनताको सेवा गर्नेछु । म सामान्य परिवारबाट आएको व्यक्ति भएकाले जनताको काम गर्न हमेसा तयार रहनेछु ।
महागढीमाई पर्यटकीय नगर हो, यो पर्यटकीय नगरमा समान्तवादी सोच हावी भएकाले अहिलेसम्म जनताको पक्षमा केही हुन सकेको छैन ।
देशविदेशका पर्यटक भिœयाएर महागढीमाईको ढुकुटी बढाउनेछु । प्रत्येक वडालाई व्यवस्थित ढल र सडक सञ्जालले जोड्नेछु । गाउँ र सहरबीच सडकका माध्यमबाट दूरी कम गर्ने लक्ष्य रहेको छ ।

शिक्षा र स्वास्थ्य सेवा सहज बनाउनेछु

रामबाबु यादव
महागढीमाई नगरपालिका, प्रमुख पदका उम्मेदवार, नेकपा माओवादी केन्द्र

दलित, मुस्लिम समुदायमाथि भइरहेको अन्याय, अत्याचारलाई निर्मूल गर्न मेरो उम्मेदवारी हो । महागढीमाईको विकास गर्न सबभन्दा पहिला शिक्षामा ध्यान दिइनेछ । नगरपालिकाभित्रै उच्च शिक्षाका लागि आवश्यक शैक्षिक संस्थाको स्थापना र सोको सञ्चालन हुनेछ । नगरपालिकामा सहज स्वास्थ्य सेवाका लागि अस्पतालको निर्माण गर्नेछु । सो अस्पतालमा एमबीबीएस चिकित्सकले उपचार गर्नेछन् भने २४सै घण्टा आकस्मिक सेवा चल्नेछ । आगामी पाँच वर्षमा यस
नगरपालिकालाई शिक्षा, स्वास्थ्य, सडक र नालाको विकास गरी हरियाली सहरको रूपमा चिनाउने मेरो उद्देश्य हो ।

गढीमाईलाई पर्यटकीय क्षेत्र बनाउँछु

शारदाशंकर प्रसाद साह
महागढीमाई नगरपालिका, प्रमुख पदका उम्मेदवार, संघीय समाजवादी फोरम नेपाल

मेरो पुस्ता र परिवार समाज सेवामै समर्पित छ । गाउँमा विद्यालयको स्थापना, मुस्लिमहरूका लागि कबरगाहा धर्मशाला निर्माण गरेको छ ।आफ्नो पुर्खाको सही कार्यलाई निरन्तरता दिनु मेरो उद्देश्य हो । महागढीमाईको मन्दिरलाई सफासुग्घर र सुन्दर बनाई पर्यटन क्षेत्रको विकास गर्ने मेरो योजना छ । नगरपालिकाभित्र भएका बेथिति र कमजोरीमा सुधार गर्नेछु । यहाँका किसानलाई चापाकलबाट मुक्त गराई सिँचाइको व्यवस्थित योजना घरघरमा पु¥याउने मेरो योजना छ ।

प्रस्तुति : अजय शाह