बलात्कार पीडितमाथि एसिड आक्रमण

लखनउ / एजेन्सी– भारतको उत्तर प्रदेश राज्यको फर्रुखाबाद सहरमा एक बलात्कारपीडित युवतीमाथि तेजाब खन्याएर सुनसान सडकमा फालिदिएको घटना सार्वजनिक भएको छ । करिब ५५ प्रतिशत शरीर जलेकी बलात्कार र एसिड आक्रमणपीडित ती युवतीलाई पहिले फर्रुखाबाद अस्पताललमा उपचारपछि कानपुरको एक अस्पतालमा भर्ना गरिएको छ ।

फर्रुखाबादका प्रहरी निरीक्षक दयानन्द मिश्राले पीडित महिलाले आफूलाई बलात्कार गर्नेहरुले नै तेजाब आक्रमण गरेको बताएको उल्लेख गरेका छन् । अभियुक्तहरु फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको छ ।

उनीमाथि गत मे महिनामा सामूहिक बलात्कार भएको थियो । सामूहिक बलात्कारमा संलग्न चार जनामध्ये तीनजना पक्राउ परेका थिए भने एकजना फरार रहेका छन् । कानपुरकी २८ वर्षीय ती युवती कामको खोजीका क्रममा फरुखाबाद आएका बेला बलात्कारको सिकार भएकी हुन् ।

फर्रुखाबादमा उनको कुराकानी बीएसएनएलका डिभिजन इन्जिनियर अजयप्रताप सिंह र सब डिभिजन अमर सिंहसँग भएको थियो । मे महिनामा बलात्कारको सिकार भएकी उनले प्रहरीमा उजुरी दर्ता गरेकी थिइन् । बलात्कारको आरोपीमा अजय र अमरसहित अर्का टेलिफोन विभागका कर्मचारी योगेन्द्र सिंह र सेनामा कार्यरत बलजित सिंह सामेल थिए ।

अमर सिंह र योगेन्द्र प्रताप सिंह अदालतको जमानतमा रिहा भएपछि पीडित महिला उच्च अदालत जाने तयारीमा रहेका बेला उनीमाथि एसिड आक्रमण गरी सुनसान सडकमा फालिएको घटना बाहिर आएको हो । प्रहरीले एसिड आक्रमणमा योगेन्द्र प्रताप र अमर सिंहलाई दोषी ठहर गरेको छ । बलात्कारको आरोपमा जमानतमा मुक्त भएका उनीहरु फरार रहेका छन् ।