कमलाको तीन कीर्तिमान

राजधानी समाचारदाता / काठमाडौं

नेपाली सेनाकी कमला श्रेष्ठले प्रथम स्ट्रंगेस्ट २०१७ सुनिललाल जोशी स्मृति भारोत्तोलन प्रतियोगितामा तीन राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएकी छन् । काठमाडांै जिल्ला भारोत्तोलन संघको आयोजनामा भएको प्रतियोगिताको महिला ६३ केजी जुनियरतर्फ उनले स्नाचमा ६२ केजी, क्लिन एन्ड जर्कमा ८१ केजीका साथै कुलमा १ सय ४३ केजीका साथ आफ्नो नाममा कीर्तिमान लेखाउन सफल भएकी हुन् । यसअघि यस विधाअन्तर्गत २०७० सालमा काठमाडांैमा भएको लुम्बिनी च्याम्पियनसिपमा सोनम चौधरीको नाममा स्नाचमा ३५, क्लिनमा ५३ र कुलमा ८८ केजी तौलको कीर्तिमान कायम थियो । यस विधामा नेपाली सेनाकी मनिता श्रेष्ठ ६१ र ८० केजी गरी कुल १४१ केजीका साथ दोस्रो भइन् ।

यसै तौलको सिनियरतर्फ सप्तरीकी शान्ति चौधरीले स्नाचमा ५५ केजी, क्लिनमा ६८ केजी गरी कुल १२३ केजीका साथ पहिलो र नेपाली सेनाकी उषा खड्का स्नाचमा ५५, क्लिनमा ६७ केजीसहित कुलमा १२२ केजीका साथ दोस्रो भइन् ।

प्रतियोगिताको सिनियर ५३ केजी तौलमा बाँकेकी सञ्जु चौधरीले क्लिनमा ८१ केजी भार बहन गर्दै आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गरिन् । यसअघि उनले एसियन युथ एन्ड जुनियर च्याम्पियनसिपमा ८० केजी भारका साथ कीर्तिमान बनाएकी थिइन् । उनले स्नाचमा ५७ र कुलमा १३८ केजीका साथ स्वर्ण प्राप्त गरिन् । दोस्रो स्थानमा रहेकी झापाकी सुमी भट्टराईले २२, २७ र कुलमा ४९ केजीका साथ रजत पाइन् । यसै स्पर्धाको जुनियरतर्फ बाँकेकी कविता चौधरीले स्नाचमा ३५, क्लिनमा ५१ र कुलमा ८६ केजीका साथ स्वर्ण, सप्तरीकी सन्तोषी यादवले २७, ३४ र कुलमा ६१ केजीका साथ रजत र पर्साकी रविना बस्नेतले ३०, ३० र ६० केजीका साथ कांस्य पाए ।

ललितपुरस्थित बालकुमारी बेंक्वेटमा भएको  प्रतियोगिताको ४८ केजी जुनियरमा झापाकी करिना चौधरीले स्नाचमा २८, क्लिनमा ३७ र कुलमा ६५ केजीका साथ स्वर्ण, सप्तरीकी सरिता यादवले ३०, ३३ र ६३ केजीका साथ रजत तथा सप्तरीकै बन्जिता थापामगरले २०, २५ र ४५ केजीका साथ कांस्य पाए ।

सोही स्पर्धाको सिनियरतर्फ नेपाली सेनाकी रिताकुमारी गुरुङले स्नाचमा ४०, क्लिनमा ४५ र कुलमा ८५ केजीका साथ स्वर्ण तथा बाँकेकी ताराकुमारी चौधरीले २५, ३५ र ६० केजीका साथ रजत पाए । ५८ केजी जुनियरतर्फको खेलमा कास्कीकी टीकामाया गुरुङले स्नाचमा ५०, क्लिन एन्ड जर्कमा ६४ केजीका साथ कुलमा ११४ केजी भारका साथै स्वर्ण पाइन् । सप्तरीकी काजल यादवले ३५, ४२ र कुलमा ७७ केजीका साथ रजत पाइन् । यसै तौलको सिनियरतर्फ नेपाली सेनाकी मनीषा रानाभाटले स्नाचमा ४८, क्लिनमा ६५ केजी र कुलमा ११३ केजीका साथ स्वर्ण पाइन् ।