अभिनेत्री सारिकाले ल्याइन् मोहनी

राजधानी समाचारदाता / काठमाडौं

अभिनेत्री सारिका घिमिरे गायिकाको रूपमा नयाँ गीतिसंग्रह ‘मोहनी’ लिएर श्रोतामाझ आएकी छन् । बुधबार राजधानीमा एक समारोहबीच नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ संगीतकार शम्भुजीत बासकोटा, पत्रकार तथा गीतकार शान्तिप्रिय, अग्रज गायिका संगीता राना प्रधान, संगीतकार राजु सिंह, सन्तोष श्रेष्ठ, कलाकार मोहन निरौला स्वयं सारिका घिमिरेलगायतले संयुक्त रूपमा विमोचन गरे ।

कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटाले चलचित्र अभिनयमा जस्तै गायनमा नयाँ इँटा थप्दै जाने र सारिकाको भविष्य उज्ज्वल रहने बताए । उनले सारिकामा गायन क्षमता सशक्त भएको जिकिर गरे ।

आफूले चलचित्र अभिनयमा आउनुभन्दा अघि केही समय संगीत र स्वरको प्रशिक्षण लिएको तर गायिका बन्ने सपना बल्ल पूरा गरेको सारिकाले बताइन् ।

यो संग्रहमा चार वटा गीत रहेको र गीतहरू सबै कर्णप्रिय रहेको शान्तिप्रियले बताए । संगीतकार सन्तोष श्रेष्ठले संग्रहका गीतबारे समीक्षा गरे । संग्रहमा शान्तिप्रिय, रमेश थापा मगर, डेनी निरौला र सारिका स्वयंको गीत रहेका छन् ।

यी गीतमा दीपक शर्मा, सारिका, डेनी निरौला र जितेन लेप्ताले संगीत दिएका छन् । संग्रहका गीत के देखेर माया लायौ…, मूलको पानी…, छमछम…र सान्नानी…सबै गीतमा सारिकाकै स्वर छ ।

सोही कार्यक्रममा के देखेर माया लायौ…को भिडियो पनि रिलिज गरियो । पुष्पल खड्का र सारिकाले मोडलिङ गरेको यो भिडियोको निर्देशन सुब्रत आचार्यले गरेका हुन् । जसमा भरत रेग्मीको सम्पादन छ । संग्रहलाई छायाछवि क्रिएसनले बजारमा ल्याएको हो ।