२ असोजबाट नेपाल अफ्रिका फिल्म महोत्सव

राजधानी समाचारदाता / काठमाडौं

‘छैटौं नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०१७’को तयारी तीव्र रूपमा भइरहेको आयोजक पक्षले जनाएको छ । आगामी २ असोजबाट ४ असोजसम्म काठमाडौंको कमलपोखरीस्थित रसियन कल्चरल सेन्टरमा हुने यो फेस्टिभलमा विदेशी पाहुनाको आगमन सुरु भएको आयोजक संस्था कलेज अफ मास कम्युनिकेसन एन्ड जर्नालिजमकी प्रिन्सिपल एवं यस फेस्टिभलकी निर्देशक डा. मञ्जु मिश्रले जानकारी गराइन् ।

महोत्सवबारे बुधबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै डा. मिश्रले भनिन्, ‘महोत्सवमा सहभागी हुन यसपटक अफ्रिकी महादीप र युरोपबाट विभिन्न १५ जना चलचित्रकर्मी आउँदै छन् । केही पाहुनाहरू त बुधबारबाटै नेपाल आउन थाल्नु भएको छ ।’ महोत्सवको तयारी पूरा भएको पनि उनले जानकारी गराइन् ।

एसिया, युरोप, अमेरिका र अफ्रिकी मुलुकबाट विभिन्न १४ देशका नौ वटा चलचित्र चयन भएको जानकारी पनि डा. मिश्रले सो क्रममा गराइन् । उनले नेपालमा अफ्रिकी फिल्म फेस्टिभल गर्नुको कारणबारे भनिन्, ‘अफ्रिकालाई अन्य देशको नभएर अफ्रिकाकै लेन्सबाट हेरिनुपर्छ भनेर हामीले ६ वर्षअघिबाट यो महोत्सव सुरु गरेका हौं । जन्जिबार फिल्म फेस्टिभलसँगको सहकार्यमा हुँदै आएको यो महोत्सवले नेपाल र अफ्रिकी मुलुकको सम्बन्ध अब सरकारी क्षेत्रबाट पनि विस्तार र निकट हुनुपर्छ भन्ने बारे जानकारी गराउँदै आएको छ ।’

यसपटक महोत्सवमा नौवटा चलचित्र प्रदर्शनी गरिँदै छ । जसमध्ये एउटा नेपाली र बाँकी अफ्रिकी मुलुकका छन् । महोत्सवमा प्राप्त ६० भन्दा बढी चलचित्रबाट यी नौ वटा चलचित्र चयन गरिएको महोत्सव संयोजक आलोक तिवारीले प्रकाश पारे ।

इजिप्टबाट मोहम्मद रशदद्वारा निर्देशित फिल्म ‘लिटिल इगल’ र नेपाल–तान्जानिया–भारतको जमेश गियाम्ब्रोने र रुस पारिसेओउद्वारा निर्देशित ‘होल्डिङ अप द स्काई’ महोत्सवको पहिलो दिन २ असोजमा प्रदर्शनी गरिनेछ ।

महोत्सवको दोस्रो दिन ३ असोजमा युगान्डाको एगोन्जे अर्नोल्डद्वारा निर्देशित ‘नथिङ इज गोइन अन’, संयुक्त राज्य अमेरिका÷चिलुवाको ह्वेभेस स्ट्रिटरद्वारा निर्देशित ‘सिलिकोन भ्याली’, मोरोक्को÷फ्रान्सको फाओजी बन्साइदी निर्देशित ‘मिली मिओस’ र सेनेगलको ‘ह्वेनास’ रहेको छ ।

महोत्सवको अन्तिम दिन ४ असोजमा युगान्डाको टोची मादुवाद्वारा निर्देशित ‘फेटल डिस्टिनी’, रुवान्डाको मारिईद्वारा निर्देशित ‘अ पिस फर माइसेल्फ’ र नेपालबाट रोशनी केसीद्वारा निर्मित चलचित्र डा…खाते प्रदर्शनी गरिने भएको छ । नेपालबाट यसपटक डा. खाते मात्र चयन भएको हो ।