बनेपा महोत्सव सुरु

काभ्रे / रास– दसंै र तिहारको अवसर पारेर काभ्रेमा बनेपा महोत्सव सुरु भएको छ । बनेपा ब्वाइज क्लब बीबीसीले बनेपा महोत्सव आयोजना गरेपछि स्थानीयहरूले दसंै र तिहारको मुखमा हाट बजारका रूपमा बनेपा महोत्सवलाई लिएका छन् । बनेपा महोत्सवमा दसैं र तिहारका लागि आवश्यक पर्ने सामान एकै ठाउँमा पाइन्छ । स्थानीयले हाट बजारसँग बनेपा महोत्सवलाई तुलना गरे पनि यसमा सांस्कृतिक कार्यक्रमसँगै उग्रेश्वरलाई चिनाउने आधारसमेत सार्वजनिक गरेको छ ।

बुधबार एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले कार्यक्रम उद्घाटन गरेका हुन् । मन्त्री बस्नेतले मुलुकले प्राप्त गरेको अधिकार प्रयोग गर्न आवश्यक रहेको बताए । उनले देशले ठूलो अधिकार प्राप्त गरेकाले त्यसकै जगमा देशको मुहार फेर्न सकिने बताए । उनले संघीय गणतन्त्रात्मक समावेशी संविधानको जगमा टेकेर देशलाई समृद्धतर्फ अगाडि बढाउन आवश्यक रहेकामा जोड दिए । कार्यक्रममा उद्योग राज्यमन्त्री रेशम लामाले काभ्रेको पहिचानका लागि समेत यस्ता महोत्सव आवश्यक रहनेमा जोड दिएका थिए । बनेपाको पहिचानलाई संरक्षण गर्न युवा व्यवसायीहरूले भूमिका खेल्न आवश्यक रहेको र नेपाल सरकारका तर्फबाट आफूले भूमिका खेल्ने उनले बताए ।